दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, प्रबास
दुबईबाट धर्म रक्षा अभियान: स्वस्थानी व्रतकथाको दानले कपिलवस्तु गुरुकुलमा अक्षयकोष स्थापना


प्रवास दुबई, यूएई । सनातन गौ संरक्षण अभियान युएई द्वारा आयोजना गरिएको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म अनलाइन जूम माध्यमबाट सञ्चालन गरिएको श्री स्वस्थानी व्रतकथा श्रवण तथा समापन (साङ्गीतिक) भजन–कीर्तन एवं सामूहिक प्रसादी ग्रहण कार्यक्रमबाट संकलित दान–दक्षिणा गुरुकुल संरक्षण तथा प्रवर्द्धनका लागि अक्षयकोष निर्माण उद्देश्यले हस्तान्तरण गरिएको छ।
उक्त दान रकम बाणगङ्गा नगरपालिका–३, कपिलवस्तुमा अवस्थित कैलाश आश्रम अन्तर्गतको श्री मनकामना संस्कृत विद्यापीठ (गुरुकुलम्) मा संस्थाकी संस्थापक अध्यक्ष श्री रमा न्यौपानेज्यूबाट औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

कार्यक्रममा यस अक्षयकोषले गुरुकुल परम्परा, वैदिक शिक्षा तथा सनातन धर्मको संरक्षण र प्रवर्द्धनमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरिएको थियो। परदेशको व्यस्त जीवनबीच पनि धार्मिक तथा शैक्षिक अभियानमा निरन्तर योगदान पुर्याउनु प्रेरणादायी र अनुकरणीय रहेको सहभागीहरूको धारणा थियो।
युएईमा रहनु हुने सम्पूर्ण सनातन प्रेमी दाजु–भाइ तथा दिदी–बहिनीहरू, साथै प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण कार्यसमिति परिवारप्रति संस्थाले हार्दिक आभार व्यक्त गरेको छ।

संस्थाका अध्यक्ष सागर दाहालका अनुसार दाताहरूको श्रद्धा, सेवा, मुठिदान र समर्पणले “धर्मो रक्षति रक्षितः” भन्ने सनातन मूल्यमान्यतालाई जीवन्त बनाएको छ। आगामी दिनहरूमा पनि यस्ता धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यहरू निरन्तर रूपमा अघि बढाइने उनले जानकारी दिए।























