राजनीति

जनकपुरधामबाट गगनलाई प्रधानमन्त्री बनाउन कांग्रेसले लिएको सूत्र……

नवलपुर टुडे
२०८२ फाल्गुन ७ | बिहान ०७:११ बजे

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरेक नेपालीलाई सम्मानित जीवन बिताउने अवसर सुनिश्चित गर्दै देशको समग्र विकास गर्ने आफ्नो भिजन सार्वजनिक गरेका छन् ।  

मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

भाषणको सुरुवात मैथिली भाषामा गर्दै थापाले विगत ३० वर्षमा गर्न नसकिएको काम अब कांग्रेस नेतृत्वको सरकारले पाँच वर्षमै सम्पन्न गर्ने दाबी गरे ।  

आफू मधेशको नेता नभई ‘बेटा’ बन्न आएको उल्लेख गर्दै उनले भने, ‘मेरो हृदयमा दुर्गानन्द झा र कामेश्वर कुशेश्वरप्रति गहिरो सम्मान छ । म मधेशले जन्माएको कांग्रेसको एक कार्यकर्ता भएर सर्लाही– ४ बाट उम्मेदवार बनेको हुँ । ‘ 

मधेश र कांग्रेसबीचको सम्बन्ध नयाँ नभएको बताउँदै उनले चुनाव जित्न मात्र नभई मधेशसहित देशको अवस्था सुधार गर्ने प्रतिज्ञा गर्न आएको स्पष्ट पारे ।

उनले प्रत्येक नेपालीले सम्मानका साथ बाँच्न पाउने, आफ्ना सपना देख्न र जीवनमै साकार पार्न सक्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए । कृषिलाई केन्द्रमा राख्दै नेपाललाई आत्मनिर्भर बनाउने र स्वदेशी उत्पादनलाई विश्व बजारसम्म पुर्‍याउने लक्ष्य रहेको उनले बताए ।  

कुनै समय शिक्षामा अग्रणी रहेको मधेश प्रदेशको शैक्षिक अवस्था अहिले कमजोर भएको उल्लेख गर्दै उनले गणित र विज्ञान विषयको पढाइ सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याए । ‘आईटीको युगमा पनि यहाँका युवाहरू रोजगारीबाट वञ्चित हुनु हुँदैन,’ उनले भने । शिक्षामा लगानी प्रभावकारी बनाउँदै किसान तथा विपन्न परिवारले छोराछोरी पढाउन ऋण लिन नपर्ने व्यवस्था गरिने उनको भनाइ थियो ।

‘नेपाललाई छोराछोरी पढाउँदा ऋण लिन नपर्ने र उपचार गर्दा डर नलाग्ने देश बनाउनेछौँ,’ उनले थपे । साथै, नेपालको मौलिकता जोगाउँदै आधुनिकतासँगै अघि बढ्ने योजना पनि उनले प्रस्तुत गरे ।  

मधेशको वित्तीय सन्तुलन बिग्रिएको उल्लेख गर्दै उनले मिटरब्याज, लघुवित्त र सहकारी ठगी नियन्त्रण गर्न कांग्रेस अग्रसर हुने बताए । मधेश अन्नको भण्डार हुँदाहुँदै पनि वार्षिक ४ खर्ब रुपैयाँबराबरको खाद्यान्न तथा फलफूल आयात भइरहेकोमा चिन्ता व्यक्त गर्दै कृषि आधुनिकीकरणमार्फत रोजगारी सिर्जना र समृद्धि सम्भव रहेको उनको भनाइ थियो ।  

कांग्रेस सुविधामा जन्मिएको पार्टी नभएको उल्लेख गर्दै उनले घृणा होइन प्रेम र निषेध होइन, समावेशी बाटोबाट देशलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे । देश निर्माणमा सबै दल र तहको सहकार्य आवश्यक भए पनि नेतृत्व कांग्रेसले गर्नुपर्ने उनको धारणा थियो ।  

उपसभापति विश्वप्रकाश शर्माले विगतका कमजोरी सच्याउँदै कांग्रेस चुनावमा होमिएको बताए । ‘हामी सुधारिएर अनुमोदन हुन आएका छौँ,’ उनले भने । निर्वाचन मात्रैले परिवर्तन सम्भव नहुने भन्दै आफूहरू बदलिएर आएको उनको दाबी थियो ।

उपसभापति पुष्पा भुसालले परिवर्तन र सुशासनका लागि कांग्रेसको जित आवश्यक रहेको बताइन् । युवाहरूको परिवर्तनको चाहना कांग्रेसले मात्र पूरा गर्न सक्ने उनको भनाइ थियो ।  

पूर्वउपसभापति तथा धनुषा– ३ का उम्मेदवार विमलेन्द्र निधिले प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको बहुमत आवश्यक रहेको बताए । संविधान र लोकतन्त्रको रक्षा गर्न कांग्रेसको जित अनिवार्य रहेको उनको जोड थियो ।  

यसअघि नेपाली कांग्रेसले सुशासन, समृद्धि र समावेशी विकासमा केन्द्रित १० बुँदे भिजन तथा चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरिसकेको छ । प्रतिज्ञापत्र थप अंक राष्ट्रिय सभागृहबाट सार्वजनिक गर्ने कांग्रेसले जनाएको छ ।  

गगनलाई प्रधानमन्त्री बनाउन नेताहरूले लिएको सूत्र यस्तो छ:

  • घर–घर गएर मतदाता भेटनुस् ।
  • उनीहरूका प्रश्न सुनुस् ।
  • कांग्रेसको के गरियो भन्ने प्रश्नको चितबुझ्दो जवाफ दिनुस् ।
  • कांग्रेसको नेतृत्वमा भएका परिवर्तनवारे जनतालाई बुझाउनुस् ।
  • कांग्रेस सच्चिएर आएको छ भन्ने महसुस जनतालाई गराउनुस् ।
  • अरुलाई गाली होइन, आफ्ना एजेन्डामार्फत आफूलाई रिझाउने प्रयास गर्नुस् ।
  • स्थायित्वका लागि कांग्रेसजस्तो परिपक्व शक्ति आउनुपर्छ भन्ने बुझाउनुस् ।
  • मधेशको एजेन्डा बोक्ने पार्टी कांग्रेसको भन्ने मतदातालाई बुझाउनुस् ।
  • संविधान संशोधनमार्फत मधेशका मुद्दा र माग सम्बोधन गरिन्छ भन्ने जनतालाई बुझाउनुस् ।
  • सबभन्दा पुरानो पनि कांग्रेस र सबभन्दा नयाँ पार्टी पनि कांग्रेस हो भन्ने जनतालाई बुझाउनुस् ।
  • कांग्रेस सुविधामा जन्मेको पार्टी होइन, अप्ठ्यारोको सामना गर्ने पार्टी हो भन्नेर बुझाउनुस् ।

कमेन्टहरु