तारिक रहमानले लिए प्रधानमन्त्रीको शपथ


काठमाडौँ । बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का अध्यक्ष तारिक रहमानले मंगलबार देशको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका छन् । राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले जाटिया संसद् भवनको साउथ प्लाजामा दिउँसो करिब ४ः१५ बजे उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
यसअघि आजै संसद् भवनमा बसेको बीएनपी संसदीय दलको बैठकले तारिक रहमानलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको थियो । संसद्मा बहुमत हासिल गरेको बीएनपीले उनको नेतृत्वमा नयाँ सरकार गठन गरेको हो।
प्रधानमन्त्री रहमानको नेतृत्वमा २५ मन्त्री र २४ राज्यमन्त्रीसहित नयाँ मन्त्रिपरिषद् घोषणा गरिएको छ । मन्त्रीहरूको सूचीमा २३ सांसद र दुई प्राविधिक (टेक्नोक्र्याटए सदस्य समावेश छन् । मुख्य मन्त्री पदका लागि मिर्जा फख्रुल इस्लाम आलमगिर, आमिर खोस्रु महमुद चौधरी, सलाहुद्दिन अहमद, इकबाल हसन महमुद लगायतका नेता चयन भएका छन् ।
त्यस्तै, २४ राज्यमन्त्रीको सूचीमा युवा तथा नयाँ अनुहारहरूलाई पनि समावेश गरिएको छ । पार्टीका अनुसार नयाँ मन्त्रिपरिषद्ले आर्थिक सुधार, लोकतान्त्रिक संस्थाको सुदृढीकरण र प्रशासनिक पुनर्गठनलाई प्राथमिकता दिनेछ ।
बीएनपी लामो समयपछि सत्तामा फर्किएको हो, जसलाई बङ्गलादेशको राजनीतिक इतिहासमा महत्त्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ । नयाँ सरकार गठनसँगै देशमा राजनीतिक स्थायित्व र नीतिगत परिवर्तनको अपेक्षा बढेको छ ।






















