महाशिवरात्रिमा आएका साधुसन्तको बिहान ११ बजेदेखि बिदाइ सुरु

नवलपुर टुडे
२०८२ फाल्गुन ५ | मध्यान्ह ०२:११ बजे

काठमाडौँ, फागुन ५। गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको पूजाआराधना एवं दर्शन गर्न आएका नागाबाबासहितका साधुसन्तलाई बिदाइ सुरु गरेको छ । बिहान ११ बजेदेखि पशुपतिनाथको मन्दिरअघिको पश्चिम ढोकामा बिदाइ सुरु गरिएको हो ।
नेपाल र भारतका विभिन्न अखडाबाट आएका नागा बाबासहितका साधुसन्तलाई रु ५५१ देखि रु ११ हजारसम्म दक्षिणा दिएर बिदाइ गर्न लागिएको संस्थानका प्रवक्ता जनक पोखरेलले राससलाई जानकारी दिनुभयो । पशुपति क्षेत्र र थापाथली क्षेत्रमा गरी यस्ता साधुसन्त चार हजारभन्दा बढी रहेको पनि उहाँले बताउनुभयो । महाशिवरात्रिमा पशुपतिनाथको पूजा, आराधना र दर्शनका लागि आएका नागा बाबासहित साधुसन्तलाई प्रत्येक वर्ष फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ ।

















