राजस्थानको भिवाडीमा रासायनिक कारखानामा विस्फोट, जलेर सात जनाको मृत्यु


नयाँ दिल्ली । भारतको राजस्थानको अलवर जिल्लाको भिवाडीमा रहेको एक रासायनिक कारखानामा ठुलो विष्फोट भएको छ ।भिवाडी औद्योगिक क्षेत्रमा सोमबार भएको यस दुघर्टनामा कम्तीमा सात जना कामदारको जलेर मृत्यु भएको छ ।
कारखानामा अरु धेरै फसेको बताइएको छ । सोमबार बिहान खुसखेडा औद्योगिक क्षेत्रको प्लट नम्बर जी१–११८मा रहेको एक रासायनिक कारखानामा यो घटना भएको थियो । दुर्घटनाले कारखाना परिसरभित्र भागाभाग भएको थियो ।अग्नि नियन्त्रकहरूहरूले कठिन प्रयासपछि सात जनाको शव बाहिर निकालेका थिए ।
रिपोर्टका अनुसार घटनाको समयमा कारखानामा करिब २५ जना कामदार काम गरिरहेका थिए । आगो यति छिटो फैलियो कि धेरै जना भाग्नै सकेनन् । जानकारी पाएलगत्तै भिवाडीका एसपी प्रशान्त किरण र एडीएम सुमिता मिश्रालगायत प्रहरी र प्रशासनिक अधिकारीहरू घटनास्थलमा पुगे र उद्धार र राहत कार्यको निरीक्षण गरेका थिए ।
भिवाडी, खुशखेडा र वरपरका क्षेत्रहरूबाट आएका धेरै दमकलहरूले घण्टौंको प्रयासपछि आगो नियन्त्रणमा ल्याएको बताइएको छ । प्रशासनले कारखानाको सुरक्षा व्यवस्थाको अनुसन्धान गर्न आदेश दिएको छ ।
आगलागीको कारण हाल अज्ञात छ, उक्त क्षेत्रमा ठुलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।






















