इतिहास, कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, देश, धर्म–संस्कृति/रीतिथिति, पर्यटन, प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, लुम्बिनी प्रदेश, विचार/ब्लग, शिक्षा, समाचार, समाज, साहित्य, सुदुरपश्चिम प्रदेश
बागलुङ भकुण्डेका मगरको गाऊ पुजाको एक अध्ययन


याम बहादुर थापा मगर
बागलुङ नगरपालिका १०, भकुण्डे, धौलेचउर, बागलुङ
लेखको आराम्भ
मगर जाति नेपालमा आदिवासी,मुलबासी हो । साथै समाजशास्त्रीय मानवशास्त्रीय अध्ययनका हिसावले समेत आदिवासी जनजाति हो । नेपाल बहुभाषिक,बहुसांस्कृतिक,बहुधार्मिक,बहुजातीय र बहुविविधता मुलुुक भित्र मगर धेरै जनसंख्या भएको आदिवासी जातिमा पर्दछ । मगर जातिको विभिन्न चालचलन,कला सस्कृति,चाडपर्व,उत्पादन प्रणालीका बारेमा डिजिटल प्रणाली र कृत्रिम बौद्धिकताको वर्तमान युगमा हराउँदै गएको र लोपोन्मुख अवस्थामा रहेकोले प्रकृति पुजक मगर समुदायको भुमे पुजा,बराह पुजा, प्रकृति पुजक,माइ पुजा,भैलेनी पुजा,झाक्री पुजा,कुलदेवता पुजा, देवाली पुजा र गाऊँ पुजा बारेमा थप ऐतिहासिक कार्यलाई दस्तावेजीकरण सहित अभिलेखीकरण गर्ने कार्यलाई अभियानको रुपमा लिनु आवश्यक छ । साथै बसाईसराई वढदो रुपमा, परसस्कृतिकरणको प्रभावले स्थानीय कला सस्कृति र परम्परा भोलिका दिनमा हराउने हो कि भन्ने चिन्ता आदिवासी, जनजाति बौद्धिक बहसमा औपचारिक रुपमा गरिन्छ । बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे, अर्वाउदी गाऊँका मानिसहरु सामुहिक रुपमा पानीको मुहान भएको स्थानमा ठुलो रुख समेत भएकोमा झाक्रीको पुजा समेत गर्ने, सामुहिक रुपमा गाऊँ पुजा ( पकृती पुजा ) गरेर खडेरीमा खेतीपातीका लागि पानी माग्ने प्रचलन रहेको छ । वैशाख,जेठ महिनामा शरिवार वा मगलबारको दिन पुजा गरेमा प्रकृती खुशी भै पानी पर्ने विश्वास र खेतीपाती गर्ने कुषकहरु खुशी भै जिवन अमृतको रुपमा काम गर्ने जनविश्वास रहेको छ । पानीको इन्द्र देवतालाई खुशी बनाउन पञ्च बलीसँग पुजा गरेर भगवानसँग पानी माग गर्ने परम्परा हालसम्म पनि कायम छ ।
मगर जाति विश्व भरि फैलिएर बसेका छन् । नेपालमा जनसख्याको हिसाबले तेश्रो जाति र जनजातिको हिसाबले पहिलो जातिको रुपमा देश भरी विभिन्न स्थानहरुमा बसोबास गर्छन । मगर गण्डकी प्रदेशको स्याङजा,तनहुँ,बागलुङ जिल्लामा अधिक मात्रामा बस्छन् । मगर भाषाहरुमा काइके भाषा, खाम भाषा, ढुट भाषा बोल्छन् । बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नं.१० भकुण्डेमा अधिक मात्रामा मगर समुदायको बसोबास रहेको छ । यहाँका मगर समुदायमा मगर भाषा बोल्न आउँदैन । एकपटक मगर भाषा ढुट सिकाउने र सिक्ने काम भएपनि निरन्तर रुपमा अगाडी बढन सकेन । मगर समुदायको बसोबासको थरहरुमा रामजाली, शर्बुजा, सलामी, सिंजाली, पुलामी, तारमी,राना,थापा, कालफठुटे मगरहरुको बाहुल्यता रहेको छ । त्यसको अलावा दलितमा विश्कर्मा कामी समुदाय, सार्की समुदायका बोसेल,रुचाल, बोहोरा,किसानहरु बसोबास गर्छन । त्यसै गरि क्षेत्री समुदायका रायमाझी, अधिकारी ,भण्डारी, खत्री क्षेत्री, शाही,मल्ल, चापागाई,जैसी,रिजाल,पौडेल थरका ब्राहाम्ण जातिका मानिसहरु बस्छन् । पुर्वमा पैयुपाटा र अमलाचौर, पश्चिममा तित्याङ, उत्तरमा कालीगण्डकी नदी र गुठी टोल, दक्षिणमा रायडाँडा गाऊ पर्छ । मगर जातिको जन्म सस्कार,विवाह,मृत्यु सस्कार, खेतीपाती लगायतका विषयमा नयाँ पुस्ताले जानकारी र शिक्षा लिनु पर्ने अवस्था आएको छ ।
अध्ययन विधि
प्रस्तुत लेख गुणात्मक अनुसन्धान विधि,अन्तर्गत विवरणात्मक अनुसन्धान ढाँचामा आधारीत भई प्राथमिक तथा द्धितिय तथ्याङकको श्रोतबाट सुचना, जानकारी र तथ्याङक संकलन गरी सोको विश्लेषण गर्दै अध्ययनको नतिजा तयार गरिएको हो । लेखक समेत याम बहादु रथापा मगर बागलुङ नगरपालिका १०, भुकण्डे, अर्वाउदीको गाऊँ पुजा गर्ने स्थलको स्थानिय बासिन्दा भएकोले आफनो अवलोकन, अनुभव र स्वअध्ययनको ज्ञान समेत संलग्न गरिएको छ । अध्ययनको क्षेत्र र सारलाई निचोडमा पुरयाउनको लागि अग्रज,अगुवा र सर्वसाधारण मगरहरुसँग ह्रावटएप,अन्तर्वाता, टेलिफोन, म्यासेन्जर,भाइबरबाट सम्बाद गरी तथ्य र जानकारी प्राप्त गरेको थियो । साथै मगरमा गाऊँ पुजा, प्रकृति पुजा,भुमे पुजा सस्कृतिसँग सम्बन्धित प्रकाशित भएका विभिन्न अनलाइनका अनुसन्धानात्मक लेख,रचनाहरु द्धितिय श्रोतबाट आवश्यक सूचना तथा तथ्याङक संकलन गरी व्याख्या विश्लेषणबाट मन्थन र विचार विमर्शबाट आएका निचोडलाई यो आलेखमा प्रस्तुत गरिएको छ । लोकवार्तालाई अभ्यास गर्ने मगरहरुको घना बस्ती भएकोमा स्थलगत अध्ययन तथा अवलोकनमा केन्द्रित भएको अवस्था छ ।
बागलुङ भकुण्डेको चिनारी
विविधतामा एकताको पहिचान बोेकेको नेपालमा बागलुङ जिल्ला झोलुङगे पुलको जिल्ला समेत भनेर चिनिन्छ । नेपाल एक हिमाल, पहाड र तराई भु–बनोट रहेको विशाल छिमेकी मुलुकहरु चिन र भारतको बिचमा रहेको एक सार्वभौम मुुलुक हो । यस भु बनोट अनुसार बागलुङ जिल्ला एक पहाडी जिल्ला हो । यो जिल्ला गण्डकी प्रदेश अन्र्तगत पर्दछ । ( साविकको धवलागिरी अञ्चलको जिल्लाहरु मध्ये एक बागलुङ जिल्ला हो । यो अक्षांशीय हिसाबले २८ डिग्री १५ मिनेट उत्तरी अक्षांश देखि २८ डिग्री ३७ मिनेट उत्तरी अक्षांशसम्म र देशान्तरीय हिसाबले ८३ डिग्री पूर्वी देशान्तर देखि ८३ डिग्री ३६ मिनेट पूर्वी देशशान्तरसम्म १,७८४ वर्ग कि.मिं क्षेत्रफलमा फैलिएर रहेको छ । वि.स.२०७८ सालको जनगणना अनुसार जनसख्या पुरुष २६,०८० र महिला ३०,०२२ गरी कुल ५६,१०२ रहेको छ । लोक्ताको जिल्ला, झोलुंगे पुलको जिल्ला जस्ता उपनामले परिचित यस जिल्ला नेपाल भित्रको सानो नेपाल जस्तै आकारमा पूर्व पश्चिम भै फैलिएर रहेको छ । बागलुङ कालिका भगवती मन्दिर, नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष, गाजाँको दह। घुम्टेको लेक, गल्कोट दरबार, पञ्चकोट धार्मिक स्थल, बलेवा भैरव मन्दिर, बागलुङ भकुण्डे सङग्राहलय, रुद्रमान स्मृति पार्क, भकुण्डे भ्यु टावर, बराहताल मन्दिर, शालिग्राम सङग्रालय, टेउवा मुर्ति सङग्रालय,दरमखोला, स्वर्णिम झोलुगे पुल, शहिद स्मृती पार्क, बाङगे चौर खेल मैदान, अतिथि होमस्टे भकुण्डे, शोले डाँडा जस्ता महत्वपुर्ण सम्पदाले यसको पहिचानलाई अझ शिखरमा पुरयाएको छ । चैते दशै मेला,हनुमान नाच, लाखे नाच जस्ता सांस्कृतिक पर्वहरु, रुद्र ताल, गाँजाको दह, नील दह जस्ता प्रमुख ताल एवं कुण्डहरु, यानीमाया, सालैजो, सोरठी नृत्य, घाुँटु नाँच लगायतका लोकसंस्कृतिको धनी यस जिल्लाका प्रमुख व्यापारीक महत्वका ठाऊँहरुमा बागलुङ बजार, बुर्तिवाङ बजार,हटिया बजार, शेरा बजार, खार बजार,हरिचौर बजार, खरबाङ बजार आदि हुन् । यस जिल्लामा मुख्य रुपमा ब्राहम्ण,क्षेत्री तथा मगर जनजातिहरुको बसोबास रहेको छ । मुख्य पेशा कृषि रहेको र यस जिल्लामा वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रहेको हुँदा विप्रेषण भित्राउने प्रमुख जिल्लाहरु मध्येमा पनि चिनिन्छ ।
बागलुङको नामाकरणको सम्बन्धमा लुङगाऊँ र बउलुङ गाऊँको नजिकै रहेका बागलुङ बजारको सेरोफेरोको ठाऊँबाट बागलुङ शब्दको उत्पत्ति भएको हुन सक्छ । भोटे भाषाका अनुसार बाङ्गो अर्थ उच्च र लुङ्गो अर्थ केही समथर भन्ने बुझिन्छ । मगर भाषामा बाङको अर्थ पहरा र लुङको अर्थ ढुंगा भन्ने बुझिन्छ । यहाँ मगर जातिले वि.स.१५९१ मा प्रसिद्ध कालिका भगवतीको मुर्ति डोलामा राखेर ल्याएका थिए । उक्त मुर्ति पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरी विसुवा देवीले पर्वते राजा प्रतापी नारायण मल्लसँगको विवाहमा दाइजो स्वरुप ल्याएकी थिइन् । भगवतीको डोला हाल स्थापित मन्दिर स्थलबाट अगाडी नबढे पछि उक्त मुर्तिलाई सोही स्थानमा स्थापित गरिएको सुन्नमा आएको छ । ( राजभण्डारी, २०७३)
यस जिल्लाको सिमानालाई हेर्दा पूर्वमा पर्वत, पश्चिममा रोल्पा र रुकुम, उत्तरमा म्याग्दी र दक्षिणमा प्युठान र गुल्मी पर्दछन । नेपालको संविधान, २०७२ जारी भएपछि राज्यको नयाँ पुनःसंरचना अनुसार बागलुङमा जिल्ला ६ गाऊँपालिका र ४ नगरपालिका तथा ४ प्रादेशिक निर्वाचन क्षेत्र र २ संघिय निर्वाचन क्षेत्र कायम गरिएको छ । ४ नगरपालिका अन्र्तगत बागलुङ नगरपालिका, जैमुनी नगरपालिका, गल्कोट नगरपालिका र ढोरपाटन नगरपालिका रहेका छन् । भने ६ गाऊँपालिका अन्र्तगत बरेङ गाऊँपालिका, काठेखोला गाऊँपालिका, ताराखोला गाउँपालिका, बडिगाढ गाऊँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाऊँपालिका रहेका छन् । कालिगण्डकीको तिरदेखि ढोरपाटन शिरसम्म फैलिएको बागलुङ जिल्ला १,७८४ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । यो जिल्लालाई भित्रको सानो नेपाल भनेर चिनिन्छ । (जि.वि.स.बागलुङ, बस्तुगत विवरण, २०७१ )
जिल्लाको नाम बागलुङ रहनुमा थुप्रै किम्वदन्तीहरु पाइन्छन् । संस्कृत भाषा विज्ञान अनुसार व्याघ्रालुनातीति ( व्याघ्राको अर्थ बाघ लुनातीतिको अर्थ छेदने वा काट्नु हो । ) अर्थात कुनै समयमा यहाँ बाघै रहन्थे र तिनीहरुबाट मानिसहरु बढी असुरक्षित हुने भएको हुदाँ एक थरीका बलिया जाति व्यक्तिले तिनलाई मार्ने वा काट्ने काम गर्दथे भन्ने बुझिन्छ । बाघलाई काट्ने गरेको अर्थबाट यस ठाऊँको नाम बाघलुङ रहन गएको हो । बागलुङ शब्द शुरुमा ब्याघ्रलु वा ब्याघ्रलुङ् हुदै बागलुंगबाट पनि वर्तमान समयमा बागलुङ भएको हो । ( छोटा, २०४८)
कुनै समयमा यस ठाऊँमा बाघहरुको ताँती हुनुको कारण यहाँको जनजीवन अति न भयाबह थियो र त्यस्तो डरलाग्दो वा दयनीय अवस्थालाई देखेर त्यस बेलामा मगराती जातिका बलिया व्यक्तिहरुको समुहको सक्रियतामा ती बाघहरुलाई छेदने र काट्ने वा मास्ने जस्ता कामहरु गरेको हुँदा बाघहरुलाई मास्ने गरेको अर्थमा यस ठाऊँको क्षबाघलुञ वा व्याघ्रलुङ रहन गई अपभ्रंस भई बागलुङ रहन गएको पाइन्छ । ( जि.वि.स. बागलुङ, वस्तुगत विवरण, २०७१ )।
त्यस्तै बाघ प्रचलित खस भाषा हो । क्षलुङ अर्थ लस्कर वा ताती, प्रतिबद्ध वा लामको अर्थलाई जनाउँछ । त्यस समयमा बाघहरुको लस्कर लाग्ने थलो भएकोले बाघलुङ रहन गएको र पछि बागलुङ रहेको हो भन्ने भनाई पनि रहन गएको छ । तिब्बती भाषामा बाघको अर्थ केही केही उठेको खण्ड र क्षलुङको अर्थ केही केही मैदान वा समथरलाई बुझाउँदछ । यसर्थ, बागलुङको भौगोलिक बनावटलाई हेर्ने हो भने कतै उठेको मैदान वा समथर जमिनको भाग भएकोेले पनि यस ठाऊँको नाम बागलुङ रहन गएको हो भन्ने पुष्ट हुन्छ । ( जि.वि.स.बागलुङ, वस्तुगत विवरण,२०७१ ) ।
बागलुङको ऐतिहासिक पृष्ठभुमि
सोह्र हजार नामले प्रसिद्ध यो जिल्ला नेपालको एकिकरण पूर्व चौविसे राज्य अन्र्तगत पर्दथ्यो । जुन समयमा कोट कोटबाट भुरेटाकुरे राजाहरुले राज्य चलाउँथे । ती कोट मध्ये यस जिल्ला अन्र्तगत पर्ने गल्कोट, बिहुँकोट, संसारकोट, अर्नाकोट र माझकोट प्रसिद्ध मानिन्थ्यो । १४ औ शताब्दीमा जुम्लाका राजाहरुले आफना राज्य विस्तार गर्ने क्रममा वि.स. १४२९ तिर मलेबम जुम्लाको राजगद्दीमा बसेपछि पूर्वतर्फका धेरै राज्यहरु जिते । बागलुङ जिल्लाका निसेल, भुजेल भन्ने ४००० पर्वत इलाकामा त्यस बेला मगरहरुको रजाई थियो । जुन समयमा रुकुममा मलेबमका छोरा पिताम्बर र नाति जैतुबलले शासन चलाएका थिए । मगर राजाहरुले यस जिल्लाको राज्य प्रभावकारी रुपमा सञ्चालन गर्न रुकुमको राजधानी गोथाममा गई राजा जैतुबमका ८ भाई राजकुमार मध्य एक भागे । राजाको जेठो छोरा बाहेक बाँकी भाइमा राजेर लाने आज्ञा दिएकाले रातीको सुतेको ठाँऊमा हेर्न जाँदा माइला राजकुमार आनन्द बमको शिरतिर बढेको देखि उनलाई पिठ्युमा बोकेर भुजेलहरुले पर्वतमा ल्याए । पर्वतेहरुले यी राजालाई तीन नामले पुकार्दथे । गोथामबाट ल्याएको गोथम्ब पिठ्युमा बोकेर ल्याएकोले पिठम्ब र आउने राजकुमारको नाम आनन्द भएकोले आनन्द भने । राजाका साथमा मुडुला कार्की, रुचाल तथा पौडेलहरु पनि आएको किम्बदन्ती छ । वि.स.१५५० तिर आनन्दबम सोलेपार पर्वतका राजा बने । त्यो बेलासम्म गल्कोट, बिहुँकोट चन्द्रकोट अन्र्तगत थिए ।
आनन्दबम र चन्द्रबम पछि बिम्ब नामको दिलिपले आफनो शासनकालमा बिहुँकोट, गल्कोट र ताकमलाई विजय गरी आफनो राज्यलाई ४००० पर्वतबाट १४००० पर्वत पु¥याए । उनले राज्यमा सुव्यवस्था ल्याउन आफ्ना माइला भाइलाई डाडाकोट,साहिँला भाइलाई बिहुँकोट र कान्छा भाइलाई गल्कोट राखेका थिए । राजा दिम्ब वर्षयाममा ढोरना र हिउँदमा ताकममा बसी राज्य चलाउँथे । ह्रयामिल्टनको भनाई अनुसार गल्कोट एउटा सानो राज्य थियो जहाँ ३००० घरहरु थिए। राजाको दरबार टाकुरामा थियो र त्यस दरबारको वरिपरि ५०० खरका झुपडीहरु थिए । यहाँ तीन ओटा तामा र एक फलाम खानी थियो । खानीहरुमा केही आधिकारीक व्यक्तिहरुले मात्र काम गर्न पाउदथे राजाको वार्षिक आम्दानी बार्षिक ३,५०० थियो । यहाँका राजाले विना कुनै युद्ध नै गोर्खालाी राजाका अगाडी आत्मसर्मपण गरेका थिए । यस गल्कोट राज्यको बारेमा इतिहासकार कर्क प्याट्रिकले पनि लेखेका छन् । उनको भनाइ अनुसार ̎ गल्कोट एउटा ठुलो शहर थियो र गल्कोट नामको एउटा ठुलो किल्ला थियो । यो गल्कोट चौविसी राजाहरु मध्ये एक थियो । एक वंशावली अनुसार राजा डिम्बका पालामा गण्डकी र कर्णाली प्रदेशका राजाहरुले दिल्लीका बादशाह कहाँ पाँच –पाँच वर्षमा सिर्तो लैजाने गर्दथे । त्यस सिर्तोमा आफना राज्यमा पाइने कस्तुरीको विना,बाज, डाँफे, मयुर, चितुवाको छाला, पश्मिनाको पछ्यौरा आदि हुन्थे । राजा डिम्बले पनि युवराज नागबमलाई वि.स.१५३० तिर दिल्ली पठाए । बादशाहबाट “मल्ल” भन्ने पदवी दिईएको हुँदा युवराज नागबम त्यसबेला देखि नागबम मल्ल भए । यिनैको पालामा जितेको मादीखोला पूर्वको डाँडाकोटलाई त्यहाँका क्षेत्रीहरुले मल्ल राज्य भनी नाउँ राखे जुन पनि राजभक्ति देखाएकोले मल्ल राज्यको नामले प्रसिद्ध छ । राजा डिम्ब १२० वर्ष सम्म बाँचेका थिए भन्ने जनश्रुति छ । यिनले ८४ वर्षको उमेरमा आफनो जेठा छोरा नागबम पनि अस्वस्थ भएकोले एक मात्र नाति प्रतापी नारायणलाई वि.स.१५९० तिर पर्वतको राज्य सुम्पे । यिनको शासन कालमा यहाँ प्रशस्त मात्रामा जङ्गल भएकोले पशुपालन र अन्य धेरै काममा महत्वपुर्ण स्थान थियो । नुन र सुन भोट तिरबाट पैठारी हुन्थ्यो । प्रतापी नारायण मल्लले राजा हुने बित्तिकै पाल्पाली राजा मुकुन्द सेनकी छोरीसँग विवाह गरे । पाल्पाली राजाले सदरमुकाम बागलुङ बजार कृष्ण गण्डकी र काठेखोलाको दोभान निर एउटा हात्ती सुँडे आकारको रमणीय वनमा निर्मित मन्दिरमा कालिका भगवती देवीको नामले प्रसिद्ध छ । देवीको साथमा पाल्पाबाट खड्ग समाती आउने खड्का क्षेत्रीलाई पूजारी बनाए । राजा प्रतापी नारायणले स्थापना गरेको यस मन्दिरको पुर्व ढोका खोल्नु हुँदैन भन्ने किम्बदन्ती अझै पनि प्रचलित छ । यस मन्दिरको पूजा खर्चको निमित्त राजाले गुठी राखी दिएका थिए । राजा प्रतंरापी नारायणको पाल्पासँग वैवाहिक सम्बन्ध पछाडि चौविसी राज्य पाल्पा र पर्वत बलिया राज्य भए । यिनको करिब ३० वर्षको शासनकाल पछाडि आफना जेठा छोरा किराती बम मल्ललाई गल्कोट माहिला राजबम मल्ललाई पर्वत र कान्छा याणबम मल्ललाई कास्कीको राज्य सुम्पी आफु काशीबास गए । पृथ्वी नारायण शाह नेपालको एकिकरणको अभियानमा गुल्मी,अर्घाखाची,प्युठान,पर्वत कब्जा गरी अन्त्यमा बलेवा हुँदै बागलुङ समेत नेपाल अधिराज्यमा गाभियो ।
नेपालको गण्डकी प्रदेश बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं.१० भकुण्डे गाऊँलाई अध्ययन क्षेत्रको रुपमा लिएको छु । समग्र बागलुङ जिल्ला मगर जातिको अधिक बसोबास भएकोमा गनिन्छ । भकुण्डे गाउँ पनि अधिक मात्रामा मगर समुदायहरुको बसोबास भएको गाऊँमा पर्दछ । भकुण्डेमा मगर बाहेक उपाध्याय रिजाल बाहुन, चापागाई जैसी बाहुन, रायमाझी, भण्डारी, अधिकारी क्षेत्री,मल्ल,ठकुरी, शाही, रोका, क्षेत्री, शेरचन,नेवार समुदायहरु बसोबास गर्दछन । मगर जातिमा रामजाली,सिंजाली,तारमी, राना, शुर्वाजा,सलामी,पुलामी, थापा मगरहरुको बसोबास गर्छन । विभिन्न, उपथरका मगरहरु भएपनि लाहुरे हुने प्रयोजनका लागि थापा मगर लेखाउने नै प्रचलन रहेको पाउन सकिन्छ । मगर भाषाहरु मध्ये मगर ढुट, काइके भाषा, खाम भाषाहरु नेपालका रोल्पा, रुकुम, स्याङजा, तनहुँ, पाल्पा, बागलुङ जिल्लाको पश्चिममा बोले पनि भकुण्डेका मगरहरु बोल्दैन । विगतमा मगर ढुट सिकाउने प्रयास भएपनि निरन्तर रुपमा आम मगर समुदाय स्तरमा प्रयोग हुन सकेन । आगामी दिनहरुमा मगर भाषालाई सिकाउन र दैनिक बोलीचालीमा प्रयोजनमा ल्याउन जरुरी भएको छ । मुलाबारीको डाँडामा भ्यु टावर, भुमे मन्दिर, हिराताल खेलमैदान, बराहताल दह, भैरव स्थान मन्दिर, मनोरम हिमश्रङखलाहरु, स्व. रुद्रमान गुरुङ स्मृति पार्क, रामजाली थापा मगरको कुल मन्दिर, सिंजाली मगरको कुल मन्दिर, पुर्नपानी गाउँ पुजा गर्ने झाक्रीथान, चमेरे गुफा, कुर्थुमको लेक, द्यज्ब्प्ग्ल्म्भ् बोर्ड, ठुलो खुकरी निर्माण स्थल महत्वपुर्ण स्थान भएकाले प्रख्यात गाउँ भकुण्डे पर्दछ । ( मगर अध्ययन, २०८१ ) साथै पुर्णपानी,समुन्ने डाँडा,सतभैया, खरबारी,माझर,चउर, नाथुराजा,नयाँबारी,धौलेचउर,दोकान,चौडिला,चम्चामुनी,ढुंगेटोल,पुछार,इधारा,खाल्टा,तारमी टोल, इन्द्रेणी टोलका सबै मगर र दलित विश्वकर्मा समुदायका मानिसहरु गाऊँ पुजाआजामा सहभागी हुन्छन् ।
नेपालको नयाँ संविधान २०७२, राज्यको पुनःसरचना अनुरुप गण्डकी प्रदेश अन्र्तगत बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्बर १०, भकुण्डेको कुल क्ष्ँोत्रफल १०.७८ वर्ग कि.मी. रहेको छ । यसको पुर्वमा पैयुपाटा, पश्चिममा रायडाँडा, उत्तरमा बागलुङ बजार र तित्याङ र दक्षिणमा रायडाँडा पर्दछन । यो वडा समुन्द्री सतहको ६५० मिटरदेखि २३५० मिटरसम्मको उचाइमा अवस्थित छ । यो वडा ( साविकको गा.वि.स.) २८º ३’ उत्तरदेखि २८º४’ उत्तरी अक्षांशसम्म र ८३º९’ पूर्वदेखि ८३º१०’ उत्तरी अक्षांशसम्म र ८३º९’ पूर्वदेखि ८३º१०’ पूर्वी देशान्तरसम्म फैलिएको छ । यस वडाको धेरै जसो भु–भाग पुर्वी उत्तर मोहोडामा फर्किएको छ । ( भकुण्डे गा.वि.स.को वस्तुगत विवरण, २०७०)
अध्ययनको नतिजा
बागलुङ भकुण्डे गाउँका मगरहरुका चिन्तनमूलक मगर जातिको बारेमा आधारीत भई सस्कृती र लोक जीवनका बारेमा यस अध्ययनको मुख्य मुख्य नतिजालाई तल संक्षेपमा व्याख्या र विश्लेषण गरी अध्ययनको नतिजा तथा सोको विश्लेषणलाई यस खण्डमा विस्तृतमा उल्लेख गरिएको छ । मगर जातिका विभिन्न सस्कृति र चालचलनलाई दस्तावेजीकरण र भावी पुस्ताका लागि संरक्षण र उपयोग गरिएको छ । ज्ञानको श्रोतका रुपमा वचावट गरिएको छ ।
गाऊँ पुजा गर्ने विधि
हरेक वर्ष वैशाख,जेठको महिनाको शनिवारको दिनमा पुजा गर्ने सरसल्लाह पछि हरेक घरबाट भेटी,चामल,धुप लिएर पुर्णपानी चउरमा जम्मा हुने गर्दछन् । पुजारी मान्छे चोखो खाने र उपासु बस्ने चलन छ । प्रत्येक घरबाट दुई जोर धजा झाक्रीको लागि र दुई जोर धजाको लागि लैजाने चलन छ । राँगो,बोका,भाले,पोथी लगायतले पुजा गर्ने गरिन्छ । सो गाऊँ पुजामा लागेको सम्पुर्ण खर्च रकम जम्मा गरेर दामासाहीले हरेक घरधुरीलाई बाँडने चलन छ । बोका,कुखुराको मासु समेत बराबर बाँडने चलन छ । नेवार समुदाय र दलित विश्वकर्मा समुदायले राँगोको मासु काटेर बाँडने चलन थियो । मगर जातिले राँगो नखाने चलन पहिले भएपनि अहिले मगर समुदायले समेत राँगो खाने चलन बढेकोले राँगोबाट समेत गाऊँ गर्ने प्रचलन बसेको छ । ( थापा, गन बहादुर, ) पानीको मुलमा झाक्रीको थान बनाई पुजा गर्ने चलन छ । पानीको मुलको संरक्षण, प्रकृति पुजकको रुपमा असिना नपरोस र खेतीपाती राम्रोसँग लगाउने वातावरण बनासे भन्दै उज्वल भविष्यको कामना गर्ने गरिन्छ । आकासे पानीको माग गर्ने र पुजा गर्दा गर्दै आकाशबाट समेत पानी पर्ने गरेको भनाइ बुढापाकाहरु वताउँछन (थापा मगर, लाल बहादुर वर्ष ६९ )
गाऊँ पुजा बली प्रथा र पुजा सामाग्री
गाऊँ पुजामा झाक्री पुजाको लागि साँघर र मसानको लाग बाँसेको भाले बली दिइन्छ । साथै बोका बली माइ पुजाका लागि र कुखुराको भाले वा पोथी काटेर पुजा गर्ने प्रचलन नहेको छ । फिरन्ता माईको पुजा समेत भन्ने गरिन्छ । पुजा गर्ने पुजारी उपासु अघिल्लो दिन बस्नुपर्ने नियम छ । प्रत्येक घर धनीको जेष्ठ मानिस उपासु बस्नुपर्ने बाध्यता छैन । उपासुले चोखो खाना खानु पर्ने नियम छ । धुप बत्ती,धजा झाक्रीको लागि, माईको लागि दुई वटा जोडा धजा, चामल गच्छे अनुसार, घिऊ ,फलफुल पनि इच्छा अनुसार प्रसादको रुपमा लिएर जाने प्रचलन रहेको छ । बली चढाएको साँघर,बोका,कुखुराहरु जनही रुपमा घर धनी अनुसार दामासाहीले बाँडेर प्रसादको रुपमा प्रत्येक घर घरमा लैजाने प्रचलन छ । दामासहीले पुजाआजाको खर्च उठाउने प्रचलन रहेको छ । इन्द्रेणी गाऊँका दलित विश्वकर्माहरुले धुपको सट्टा पैसा पुजा सामाग्रीमा सहभागी जनाउने चलन छ ।
गाऊ पुजामा सहभागी टोलहरु
बागलुङ भकुण्डे गाउँका माझर,पुर्णपानी,समुन्नेडाँडा,नाथुराजा,चउर,इन्द्रेणी टोल,धौलेचउर,दोकान,चौडिला,मौरीभिर,इधारा,चम्चामुनी,डाँडाटोल,तारमीटोल,पुछार,खोलापारी,ढुंगेटोल,बुढोघर, खाल्टा ,नयाँबारी,सतभैया टोलका मानिसहरुले सामुहिक रुपमा गाऊँ पुजा प्रकृति पुजक र पानीको मुहान संरक्षण गर्ने मनसायले पुजा गर्दछन् । जसमा नेवार,दलित विश्वकर्मा,मगर जातिका मानिसहरुले पुजा गर्दछन् । मगर जाति भित्रका सिंजाली,रामजाली,तारमी,सलामी,बुढाथोकी थरका मगरहरुले पुजाआजामा सहभागी हुन्छन् । ( थापा मगर, टिकाराम, वर्ष ६८ ) । सहभागी टोलका गाऊँपुजामा सबैलाई सामुहिक रुपमा अनिवार्य रुपमा सहभागी हुन र धुप बत्ती लिएर आउनका लागि खबर गरिन्छ । दामासाहीले भागबण्डा गरेर पुजाआजाको खर्च हिसावमिलान गरिन्छ । एक घरका एक जना अनिवार्य उपस्थिती भनिएपनि कुनै घरका दुई तिन जना सहभागी हुन्छन भने कुनै घरका मानिसहरु छिमेकीहरुलाई धुपबत्ती लगिदिन व्यस्तताका कारणले अनुरोध गर्ने चलन छ ।
झाक्री पुजा गर्ने
पानीको मुल भएको स्थानमा झाक्रीको पुजा ठुलो रुख समेत भएको स्थानमा गरिन्छ । विहान सबेरै ४,५ बजे तिर मानिसले पिउने,खाने शुद्ध पिउने पानी लिन जाने गर्दथे । उज्यालो भएपछि धेरै मानिसहरुको जमघट र दिउँसोको समयमा गाईवस्तु,राँगोले कुवाको पानी पिउने भएकोले फोहोर हुने भएकोले विहान पिउने पानी लिन गाग्री लिएर जाने गर्दथे । तर आजभोलि झाक्री पुजा गर्ने स्थानमा टंयाकी निर्माण गरेर पानीको मुललाई संरक्षण गरी एक घर एक धाराको निर्माणको प्रक्रियामा रहेको छ । झाक्री पुजाले पानीको संरक्षण र प्राण भर्ने पानीका पुजासँग जोडिएको छ । कोही कसैलाई पेट दुख्ने,टाउको दुख्ने,बान्ता हुने भएमा लामा,झाक्रीको हेराउदा झाक्री लागेको छ भनी देखाएमा सो विरामी व्यक्तिलाई झाक्रीलाई उठाएमा सन्चो हुने विश्वास गरिन्छ । सन्चो भएमा बली पुजा समेत गर्ने प्रचलन छ ।
खुशी हुन र पिडा भुल्न पुजा
गाऊँघरमा मानिसहरु दिनहुँ काममा व्यस्त हुने, खेतीपातीको काममा वैशाख,जेठको महिनामा खडेरीले पानीको अभाव पर्ने भै आकाशे पानीको कामना स्वरुप गाऊँ पुजा स्वरुप झाक्री पुजा गर्ने कार्य सामुहिक र एकता भावले गरेपछि पुजाको दिनमा आकाशबाट समेत पानी पर्ने गरेको जनविश्वास छ । आकाशबाट पानी परेको उपलक्ष्यमा झाक्री पुजा राम्रो भएकोले खुशी हुने चलन छ । ( थापा मगर, टिकाराम ) । खेतीपाती राम्रो हुने आशामा सिंचाईको सुविधा नभएको पहाडी भेगमा राम्रो खेतीपाती हुने विश्वास गरिन्छ । पानी परेपछि कृषि उत्पादन बढी हुने भएकोले अनिकाल नपर्ने पिडाबाट मुक्त हुने भएकोले खुशीयाली व्यक्त गर्दछन ।
सामुहिकता र एकता प्रर्दशन
प्राकृतिक पानीको मुल श्रोत उपभोग गर्ने मानिसहरु विचको गाऊँ पुजा मार्फत सामुहिकता र एकताको भावना प्रकट गरिन्छ । गाऊँ टोलका सबै घरलाई अनिवार्य सहभागीताको लागि अनुरोध गरिन्छ । ( थापा मगर,गन बहादुर ) । कसैको घरमा मरु परेको,सत्को परेको भएमा मात्र गाऊँ पुजामा सहभागीको लागि अनिवार्य गरिदैन । गाऊँ पुजामा एक आपसमा भलाकुसारी र छलफलले भातृत्व विकास, बन्धुत्व प्रवद्र्धन र सामुहिक निर्णयमा विकास गरेको पाउन सकिन्छ । प्रकृति पुजक तथा भुमे पुजाको एक प्रकारको पुजा भएको मान्न सकिन्छ । तर भुमे माईको पुजा भनेर मुलाबारी बनको शिरमा गर्ने चलन रहेको स्थानीयहरु बताउँछन् । गाँऊ घरका नयाँ नयाँ जानकारी र खबरहरु सामुहिक रुपमा आदानप्रदान हुने माध्यम हुने छ । एक आपसको सम्बादले समाजका गतिविधीहरु बारेमा जानकारी लिने प्रचलन हुन्छ ।
मानिस र पशुपालनको पानीको प्रमुख श्रोत
भकुण्डे गाऊँको बिचमा पानीको मुल नभएकोले एक मात्र पानीको मुल झाक्री पुजा गर्ने र गाऊँ पुजा गर्ने स्थानमा भएकोले जिवन जिउने र गाईवस्तुको लागि पानीको प्रमुख श्रोत भएकोले पुजा आजा गरिएको बताउँछन । ( थापा, डम्मर बहादुर, वर्ष ६७ ) । सबेरै सफा पानी भर्ने काम मानिसहरुको लागि र दिउँसो पानी भैसी,गाई,गोरुको लागि गर्ने प्रचलन थियो । पछि गाईवस्तुको लागि ताल,पोखरी बनाउने प्रचलन विकास भयो । अहिले पानीको बैकल्पीक श्रोत सौरेको मुहानको पानी संकलन गरी खानेपानी प्रयोग गर्ने गर्दै आएको अवस्था छ । प्रत्येक घरमा धारा जडान गर्ने र पानीलाई संरक्षणको लागि टयांक्की निर्माण गर्ने कामको थालनी भएको छ । आजकल पहिले जस्तो भैसी,गाई,गोरु पाल्ने चलन हराउँदै गएकोले पोखरी सुक्दै र हराउँदै गएको छ ।
पुजा गर्दा गर्दै पानी पर्ने मान्यता
गाऊँ पुजाको दिनमा पुजा गर्दा गर्दै पानीका देवता खुशी भएर आकाशबाट पानी पर्ने गरेको भनाइ प्रशस्त मात्रामा पाइन्छ । पानी परेपछि पुजारीको पुजा सफल भएको मान्यता राखिन्छ । खेतीपाती राम्रो हुने खडेरीको समयमा अति आवश्यक पर्ने माग्नका गाउँलेहरु गाउँ पुजा प्रचलन रहेको छ । पुजा गर्दा गर्दै पानी परेका पछि गाउँलेहरु खुशी हुने र अर्को पटक समेत गाउँ पुजा गर्नुपर्ने धारणा व्यक्त गरेको पाइन्छ (लाल बहादुर थापा, ६९ ) । पुजा स्थल नजिकै पानीको मुल समेत भएकोले सोको पानी पिएर जिउने आधार भएकाले समेत गाउँ पुजा गर्ने प्रचलन बसेको पाइन्छ । पुजा स्थलमा खुल्ला चउर समेत रहेको छ । चउरमा गाईवस्तु जम्मा हुने स्थलको रुपमा चिरपरिचत रहेको छ ।
मगर बाहेक अन्य जाति समेत सहभागी हुने
मगर जातिका सिंजाली,रामजाली,सलामी थरका बाहेक सामुहीक पुजा भएकाले नेवार समुदाय र दलित समुदाय विश्वकर्मा जातिका मानिसहरु समेत सहभागी हुने गर्दछन । साथै गाऊँ पुजामा विश्वकर्मा जातिले ध्यु धुपको बदलामा नगद पैसा नै चढाउने गर्दछन । चोखो निष्ठा हुने चिजहरु मात्र सहभागिता जनाउने गर्दछन । नेवार समुदाय र विश्वकर्मा समुदायका मानिसहरु पुजारी हुन पाउँदैन । मगर जातिहरुको प्रकृति पुजा प्रणालीमा खेतीपाती राम्रो होओस, प्राकृतिक देवी प्रकोप नपरोस,मानव जगतको भलो र संरक्षण होओस भनेर गाऊँ पुजा गर्दछन । गाऊँ पुजामा मगरहरु प्रकृति पुजक भै मानव मैत्री वातावरण होओस भन्ने काम चाहाना र कामना व्यक्त गर्ने गरिन्छ ।
पुजामा सहभागीलाई बन्देज
गाऊँ पुजामा कुनै घरमा एक वर्षसम्म मृत्यु भएको घरबाट सहभागी र सुत्केरी भएको छ भने सुतक बार्ने अवधी भएमा पुजामा सहभागी हुन बन्देज गरिएको हुन्छ । पुजाको खर्च लागतमा सहभागी गराउने चलन छैन । त्यस पुजामा सहभागी हुन छुटेका मानिसहरुले अर्को वर्षको पुजा सहभागी हुनु पर्ने हुन्छ । गाऊँ पुजामा सहभागी हुनका लागि हुनका वल्लो घर र पल्लो घर हुँदै गाऊँ पुजामा सहभागी हुन समाचारहरु दिने चलन छ । सुतक र झुठोमा परेका घरपरिवारले गाऊँ पुजा गर्न चाहेमा शुभ दिन पारेर मनोकामना पुरा होओस भनेर छुटै दिनमा पुजा गर्ने प्रचलन छ ।
भाकल गरेर पुजा समेत छुटै गर्ने
गाऊँ पुजा गर्ने स्थानका गाऊँलेहरुले यदि पेट दुखेमा, टाउको दुखे,ज्वरो आएमा झाक्री लामाहरुलाई अक्षेता हेराउने समयमा झाक्री लागेको छ भनेर भाकल पुजा, पैसा उठाउने गरेको पाइन्छ । झाक्री पुजा गर्न भाकल भएमा साँघर,कुखुराको भालेको बली पुजा गर्ने चलन समेत छ । सो उपचारात्मक पुजा बाहेक लाहुरे हुने पाऊँ भन्दै, रोजगारी हुन पाउ भन्दै र सुस्वास्थ्यको कामना स्वरुप भाकल पुजा गर्ने प्रचलन रहेको छ । सामुहिक पुजाले गाउँ भरीका मानिसहरु सहभागी भएपनि एकल पुजा गर्ने समयमा भने एकल परिवारको मात्र सहभागी हुने गरेको पाइन्छ ।
आदिवासी मगर समुदायको भुमे पुजा,प्रकृती पुजाका बारेमा जानकारी भएपनि गाऊँ पुजा बारमा भकुण्डे,पुर्णपानीको चौरमा गर्ने परम्पराका बारेमा छलफल र फोन वार्ता भएको छ । मगरहरुले सुर्य,चन्द्र,पृथ्वी,जल,बायु,चट्याङ आदि प्रकृतिलाई सृष्टि रचनाको देववर्गीय प्रतिकका रुपमा स्थापित गरेको पाइन्छ । मगरहरुका पितृपूजा,कुलपुजा,बराह पुजा,भुमे पुजा,माइ पूजा,रुखको पूजा,बाजे बराज्यूको पुजा,सिद्ध देवता,देवाली पुजा,झाक्री पुजा, गर्ने प्रचलन रहेको छ । त्यस स्थानमा गाऊँ पुजा गर्ने नेवार समुदाय र थकाली समुदायका मानिसहरु बसाइ सराइ सरेर शहरी स्थानमा सबै भन्दा पहिलो गरेका छन् । त्यसपछि मात्र मगरहरु समेत बागलुङ बजार, पोखरा,काठमाडौ,बुटवल,भैरहवा,नारायगढ तिर बसाइसराइ गरेको छलफलबाट जानकरी भयो ।
निश्र्कष
गाऊँ पुजामा सबै गाँऊ भरिका मानिसहरुको समान सहभागीता हुने भएकोले पानीको मुलको पुजासँगसँगै झाक्री पुजा र प्रकृती पुजाको तरिकाले माइ पुजा समेत जोडेर गर्ने गरेको पाइन्छ । बाक्लो मगर जातिको बसोबास स्थल भएपनि आडमा भएका दलित विश्वकर्मा समुदाय र नेवार समुदायका मानिसहरु समेत गाऊँ पुजामा सहभागी हुने गरेको पाइन्छ । पछिल्लो चरणमा मानिसहरुको बसाईसराईको तिव्र गतिका कारण गाऊँमा युवा मानिसहरुको कम उपस्थिति रहेको कारण गाऊँ पुजा वर्षेनी गर्ने परम्परामा अनियमित र कमी आएको छ । पानीको मुलमा संरक्षण र संकलनको लागि टयांक्की निर्माण गरिएको अवस्था छ । गाऊँ बस्तीका वरीपरिका खेती योग्य जग्गाहरु समेत बाँझो जग्गामा परिणत भएका छन् । बागलुङ बजारबाट भकुण्डे गाऊँसम्म मोटरबाटो सहज तरिकाले निर्माण भएकोले बजारबाट किनेर खाने प्रचलन बढेको छ । पानीको मुललाई आगामी पुस्ताको लागि संरक्षण गर्ने र शुद्ध पिउने पानीको रुपमा बचाइ राख्ने काम चुनौतीको रुपमा रहेको छ । पानीको गाऊँमा वैकल्पीक श्रोत नभएकोले खडेरी परेमा मुख्य एक मात्र पानीको श्रोत गाऊँ पुजा गर्ने स्थलमा रहेको छ ।
पानीलाई मानिसहरुको लागि मात्र नभै पशुपालनको लागि समेत बहुत उपयोगी हुन्छ । अहिले भकुण्डे गाऊँका केही टोलहरुमा एक घर एक धारा पानीको निर्माण भएको, गाई भैसी पाल्ने प्रथामा कमी आएको,महिलाहरुको मात्र उपस्थिती अधिक भएको कारणले गाऊँ पुजालाई निरन्तरता दिनमा कठिनाइ भएको छ । युवा पुस्तामा धार्मिक कार्य,कला सस्कृति,पराम्परा संरक्षणमा लगाव घटदै गएको होकी भन्ने आकलन गर्न सकिन्छ । साथै बाह्य संस्कृतिको प्रभाव र दबावका कारण गाऊँ घरमा चल्दै आएका सस्कृति लोप उन्मुख हुदै जानु कसैका लागि पनि राम्रो मानिदैन । राज्य,प्रदेश,स्थानीय सरकारबाट समेत चासो र चिन्ता लिएर पुराना कला सस्कृति बचाउने तर्फ, प्रमाणीकरण गर्ने र अभिलेखीकरण गर्नेमा शिलशिलाबद्ध तरिकाले लाग्नुपर्छ । साथै गाउँ पुजा जस्तै अन्य सस्कृति र चालचलनहरु जोगाउनमा लाग्नु पर्दछ । बागलुङ भकुण्डेका मगरहरुले गर्ने गाँऊ पुजाको विधि, प्रक्रिया,महत्वलाई जोगाइ राख्न अनिवार्य भएको छ । किनकी पर्यटनको पुर्वाधार, सामुहिकतामा विश्वास र एकताको मनोवल निर्माण गर्ने स्थलका रुपमा विकास र प्रवद्र्धन गर्न सकिन्छ ।
सन्दर्भ सुचीहरु
१) भकुण्डे गा.वि.स.को वस्तुगत विवरण, २०७०
२) थापा, ज्ञान बहादुर,शोधपत्र,त्रि.वि.वि. २०७६, बागलुङ भकुण्डेको घरवास कार्यक्रमले आर्थिक र सामाजिक अवस्थामा पारेको प्रभाव
३) विकिपिडिया, मगर जातिको परिचय र प्रकृति पुजक बारेमा
४) नेपालको संविधान, २०७२, नेपाल कानुन आयोग
५) घर्ती मगर, लक्ष्मण, २०७८ वैशाख २२ , मगर समुदायको प्रकृति पुजक धर्म
६) ओली, नारायण, मुलक पाटी , २०८० असार १, मगर समुदायको भुमे पर्व तथा बल पुजाको इतिहास र आस्थाहरु
७) थापा मगर, याम बहादुर, मगर अध्ययन जनरल, चैत,२०८१, बागलुङ भकुण्डेबाट बसाइँसराई गर्ने मगर समुदायको अवस्था ः एक समाजशास्त्रीय अध्ययन
८) थापा मगर, लाल बहादुर, वर्ष ६९ , मौखिक अन्तर्वाता, बागलुङ नगरपालिका १०, भकुण्डे,धौलेचउर,बागलुङ
९) थापा मगर, टिकाराम, वर्ष ६८ वर्ष, मौखिक अन्तर्वाता, बागलुङ नगरपालिका १०, भकुण्डे,चौडिला, बागलुङ
१०) थापामगर, पार्वती भन्ने मतिकला,वर्र्ष ६६,मौखिक अन्तर्वाता, बागलुङ नगरपालिका १०,भकुण्डे, धौलेचउर, बागलुङ
११) थापा मगर,रुपकदेवी, वर्ष ४४, मौखिक अन्तर्वाता, बागलुङ नगरपालिका १०, भकुण्डे, धौलेचउर
१२)थापा मगर, गन थापा, वर्ष ७३,मौखिक अन्तर्वाता,बागलुङ नगरपालिका वडा १०, भकुण्डे, समुन्नेडाँडा
१३) जिल्लाको वस्तुगत विवरण, जिल्ला तथ्यांक समन्वय कार्याल,बागलुङ,२०८०
१४) थापा, याम बहादुर,शोधपत्र,त्रि.वि.वि. २०८२, मगरहरुको झाम्रे गितले आर्थिक र सामाजिक अवस्थामा पारेको प्रभाव
१५) www.bhakudne.com.np























