‘इरान आणविक सम्झौता गर्न तयार छ’


तेहरान । इरानका उपविदेशमन्त्री माजिद तख्त–रवान्चीले यदि अमेरिका इरानमाथिको प्रतिबन्ध हटाउने विषयमा छलफल गर्न इच्छुक भए आणविक सम्झौता गर्न तयार रहेको बताएका छन् ।
शनिबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता चाहेको तर इरानसँग सम्झौता गर्न धेरै गाह्रो भएको बताएका थिए । तेहरानमा बीबीसीसँगको एक अन्तर्वार्तामा तख्त–रवान्चीले सम्झौता गर्ने इच्छुकता प्रमाणित गर्नु अब अमेरिकाको हातमा भएको बताएका थिए ।
‘यदि उनीहरू इमानदार छन् भने, म विश्वस्त छु कि हामी सम्झौतातिर अघि बढ्नेछौँ’ उनले भने । इरानको आणविक कार्यक्रमलाई सीमित गर्न कुनै सम्झौता नभए उक्त देशमाथि आक्रमण हुने चेतावनी ट्रम्पले दिएका थिए । यसैबिच अमेरिकाले सो क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको छ ।
अमेरिका र इरानले फेब्रुअरीको सुरुमा ओमानमा अप्रत्यक्ष वार्ता गरेका थिए । दोस्रो चरणको वार्ता मंगलबार जेनेभामा हुने तय भएको रवान्चीले पुष्टि गरेका छन् । वार्ता धेरथोर सकारात्मक भएपनि अहिले नै निष्कर्ष निकाल्नु धेरै हतार हुने उनले बताएका थिए । ट्रम्पले वार्तालाई सकारात्मक पनि भनेका छन् ।























