प्रबास

गेजानी चक्रवातका कारण मोजाम्बिकमा ४ जनाको मृत्यु

एजेन्सी
२०८२ फाल्गुन ३ | मध्यान्ह ०३:११ बजे

मापुटो । गेजानी चक्रवातले दक्षिणी अफ्रिकी देश मोजाम्बिकमा विध्वंस मच्चाएको छ । चक्रवातका कारण इन्हाम्बाने तटीय प्रान्तमा कम्तीमा ४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

शक्तिशाली हावाहुरी र वर्षासहित आएको चक्रवातका कारण रुख र बिजुलीका लाइन ढाल्दा १३ हजारभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् । केही जिल्लामा खानेपानी आपूर्ति पनि अवरुद्ध भएको छ । करिब एक लाख जनसङ्ख्या रहेको इन्हाम्बाने सहरमा जनजीवन प्रभावित बनेको छ ।

यसअघि चक्रवातले माडागास्करमा ठुलो विनाश मच्चाएको थियो । चक्रवातका चपेटामा परेर त्यहाँ कम्तीमा ४१ जनाको मृत्यु भएको थियो । सरकारी विवरणअनुसार ४२७ जना घाइते भएका छन् भने १६ हजारभन्दा बढी विस्थापित भएका छन् । 

 

माडागास्कर सरकारले राष्ट्रिय आपतकाल घोषणा गर्दै करिब १४ करोड २० लाख अमेरिकी डलर बराबरको क्षति भएको जनाएको छ । विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण मोजाम्बिक र आसपासका क्षेत्रमा यस्ता चरम मौसमीय विपद् बारम्बार हुने गरेका छन् । 

 

हालै आएको बाढीले मात्र ७ लाखभन्दा बढी मानिस प्रभावित भएका थिए भने लाखौँ घरमा क्षति पुगेको थियो ।

कमेन्टहरु