दुबई यूएई, प्रबास, बिश्व, रोजगार

एनआरएन एनसीसी यूएईको मानवीय सहयोग: समस्यामा परेका राजेन्द्र थापालाई नेपाल फर्काइयो

कबिराज राजबंशी
२०८२ फाल्गुन २ | मध्यान्ह ०५:११ बजे
एनआरएन एनसीसी यूएईको मानवीय सहयोग: समस्यामा परेका राजेन्द्र थापालाई नेपाल फर्काइयो

प्रवास, दुवई– संयुक्त अरब इमिरेट्स (यूएई) मा लामो समयदेखि कम्पनीमा कार्यरत रहँदा विभिन्न कारणले गम्भीर आर्थिक तथा मानसिक समस्यामा परेका नेपाली नागरिक राजेन्द्र थापा लाई एनआरएन एनसीसी यूएईले मानवीय सहयोग गर्दै नेपाल फर्काउने व्यवस्था गरेको छ।

प्राप्त जानकारी अनुसार यूएईमा कार्यरत रहँदा अचानक आर्थिक अवस्था कमजोर बन्दै गएपछि थापा नेपाल फर्कन असमर्थ भएका थिए। साथै, उहाँको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको र खानबस्न समेत समस्या भएको विवरण बाहिरिएपछि उहाँले नेपालस्थित आफ्नो नगरपालिकामार्फत सहयोगको अपिल गर्दै एनआरएन एनसीसी यूएईसमक्ष नेपाल फर्काइदिन अनुरोध गरेका थिए।

उक्त विषय सार्वजनिक भएपछि नवलपुर टुडेका पत्रकार कविराज राजवंशीको विशेष पहल र समन्वय मा एनआरएन एनसीसी यूएई परिवारले तत्काल मानवीय जिम्मेवारी निर्वाह गर्दै आवश्यक सहयोग प्रक्रिया अघि बढाएको जनाइएको छ। विदेशमा समस्यामा परेका नेपाली नागरिकको उद्धार तथा सहयोग गर्नु एनआरएनको मुख्य मानवीय उद्देश्यअनुसार रहेको भन्दै एनआरएन एनसीसी यूएईले यस कार्यलाई प्राथमिकताका साथ सम्पन्न गरेको बताएको छ।

एनआरएन एनसीसी यूएईका सचिव सबिन तामाङ ले विशेष पहल गर्दै राजेन्द्र थापालाई नेपाल फर्किनका लागि आवश्यक हवाई टिकटको व्यवस्था गरिदिनुभएको छ। साथै, थापा नेपाल पुगेपछि आफ्नो घरसम्म सुरक्षित रूपमा पुग्नका लागि आवश्यक गाडी भाडा (यातायात खर्च) समेत सहयोग गरिएको एनआरएन एनसीसी यूएईले जनाएको छ।

त्यस्तै, राजेन्द्र थापालाई यूएईबाट एयरपोर्टसम्म पुर्‍याएर यात्राका सम्पूर्ण प्रक्रिया सहज बनाउन सहयोग गर्ने राम तामाङ प्रति पनि एनआरएन एनसीसी यूएई परिवारले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

एनआरएन एनसीसी यूएई परिवारले विदेशमा समस्यामा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको साथमा सधैं उभिने प्रतिबद्धता दोहोर्‍याउँदै यस्तो सहयोग अभियानलाई निरन्तरता दिने बताएको छ। संस्थाले “समस्या परे साथमा — नेपालीको लागि नेपाली” भन्ने मूल नारालाई व्यवहारमा उतार्दै मानवताका लागि आवश्यक सहयोग गर्दै आएको पनि जनाएको छ।

यस घटनाले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपालीहरूलाई सहयोग गर्न सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण हुने देखिएको छ।

 

कमेन्टहरु