दुबई यूएई, बिश्व, विश्व, समाचार
अबुधाबीस्थित नेपाली दूतावासद्वारा नेपाली चिकित्सकसँग स्वास्थ्यसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


प्रवास, युएई – संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपाली श्रमिकहरूको स्वास्थ्य समस्यालाई केन्द्रमा राख्दै अबुधाबीस्थित नेपाली राजदूतावासले युएईका विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सकहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

दूतावासका अनुसार २०८२ फागुन ०१ गते (१३ फेब्रुअरी २०२६) मा सम्पन्न कार्यक्रममा युएईका विभिन्न अस्पतालमा कार्यरत Nepali Medical Doctors समूहका करिब २५ जना नेपाली चिकित्सक सहभागी थिए। कार्यक्रमको उद्देश्य युएईमा रहेका नेपाली श्रमिकहरूको शारीरिक तथा मानसिक स्वास्थ्य समस्याको पहिचान, समाधान र रोकथामका उपायबारे छलफल गर्नु रहेको दूतावासले जनाएको छ।

कार्यक्रममा सहभागी चिकित्सकहरूले स्वास्थ्य जाँचका क्रममा नेपाली श्रमिकहरूमा शारीरिक समस्यासँगै मानसिक स्वास्थ्य समस्या बढी देखिएको जानकारी दिएका छन्। चिकित्सकहरूको अनुसार श्रमिकहरूमा उच्च रक्तचाप, हृदयघात, मृगौला समस्या, मानसिक तनाव तथा डिप्रेसन, साथै कार्यस्थल र ट्राफिक दुर्घटनाबाट हुने चोटपटक र महिलासम्बन्धी स्वास्थ्य समस्या प्रमुख रूपमा देखिने गरेको छ।
चिकित्सकहरूले स्वास्थ्य चेतनाको कमी, रोग लुकाउने प्रवृत्ति, खाडी राष्ट्रको वातावरणीय असरबारे पर्याप्त जानकारी नहुनु, स्वास्थ्य बीमाबारे अनभिज्ञता तथा समय अभावका कारण धेरै श्रमिकहरू अस्पतालमा नियमित स्वास्थ्य जाँच गराउन नजाने गरेको बताएका छन्।
उनीहरूले नेपाली श्रमिकहरूलाई नियमित स्वास्थ्य परीक्षण, पर्याप्त पानी सेवन, अत्यधिक मदिरा सेवन नियन्त्रण तथा स्वास्थ्य बीमासम्बन्धी जानकारी लिन आग्रह गरेका छन्। साथै, युएईमा रहेका नेपालीहरूको स्वास्थ्य उपचारमा सम्भव भएसम्म निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
कार्यक्रममा चिकित्सकहरूले युएईमा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै मानसिक स्वास्थ्य समस्या भएका श्रमिकहरूको उपचारका लागि नेपाल सरकारसँग समन्वय गरी Telemedicine सेवा सुरु गर्नुपर्ने सुझाव दिएका छन्।
त्यस्तै, युएई आउनुअघि नेपालमै स्तरीय स्वास्थ्य जाँच (Quality Medical Check-up) को व्यवस्था सरकारी अस्पतालमार्फत गर्नुपर्ने तथा Pre-Departure Orientation मा स्वास्थ्य, बीमा, युएईको हावापानी, सडक सुरक्षा र दुर्घटनासम्बन्धी विस्तृत प्रशिक्षण दिनुपर्ने विषयमा समेत जोड दिइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै महामहिम राजदूत तेजबहादुर क्षेत्री ले युएईमा रहेका नेपाली चिकित्सकहरूको योगदानको प्रशंसा गर्दै प्राप्त सुझावहरू कार्यान्वयन गर्न दूतावास सदैव तत्पर रहेको बताए। साथै, आगामी दिनमा पनि दूतावाससँग समन्वय गरी विभिन्न स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सबै इमिरेट्समा रहेका नेपाली चिकित्सकहरूको सक्रिय सहयोगको अपेक्षा गरिएको उनले बताए।























