प्रबास

अरुन्धती रोयद्वारा बर्लिन फिल्म फेस्टिभल बहिष्कारः गाजामा हुने नरसंहारबाट हामी पन्छिन सक्दैनौँ

नवलपुर टुडे
२०८२ फाल्गुन २ | बिहान ११:११ बजे

काठमाडौँ । गाजामा इजरायलले मच्चाएको नरसंहारकारी युद्धबारेमा बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका निर्णायक सदस्यहरूले दिएको ‘अविवेकपूर्ण अभिव्यक्ति’ को विरोध गर्दै बुकर पुरस्कार विजेता प्रसिद्ध भारतीय लेखिका अरुन्धती रोयले महोत्सव बहिष्कार गर्ने घोषणा गरेकी छन् ।निर्णायक मण्डलका अध्यक्ष एवं प्रख्यात निर्देशक विम वेन्डर्सले गाजामा इजरायली आक्रमणलाई जर्मनीले गरिरहेको समर्थनबारे सोधिएको प्रश्नको जवाफ दिँदै ‘चलचित्रकर्मीहरू राजनीतिबाट टाढा रहनुपर्छ’ भन्ने धारणा राखेका थिए ।

भारतीय अनलाइन पत्रिका ‘द वायर’ सँग कुरा गर्दै लेखिका रोयले भनिन्, ‘बर्लिन महोत्सवका निर्णायक सदस्यहरू र खासगरी अध्यक्ष विम वेन्डर्सले कलामा राजनीति मिसाउनु हुँदैन भनी दिएको अभिव्यक्ति स्तब्ध तुल्याउने खालको छ ।’

 

रोयले भनिन्, ‘हाम्रा आँखा अगाडि प्रत्यक्ष रूपमा मानवता विरुद्धको गम्भीर अपराध भइरहँदा पनि त्यसका विरुद्ध भइरहेका संवादहरूलाई बन्द गर्ने यो एउटा दुष्प्रयास हो । म यसबाट निकै मर्माहत र क्रुद्ध भएकी छु ।’ उनले कलाकार, लेखक र चलचित्रकर्मीहरूले गाजाको युद्ध रोक्न आफ्नो सम्पूर्ण सामर्थ्य लगाउनुपर्नेमा समेत जोड दिइन । 

 

रोयले इजरायलको कडा आलोचना गर्दै भनेकी छन्, ‘म प्रस्ट रूपमा भन्न चाहन्छु, गाजामा जे भयो र अहिले जे भइरहेको छ, त्यो इजरायल राज्यद्वारा प्यालेस्टिनी जनतामाथि गरिएको नरसंहार नै हो । यो युद्धलाई अमेरिका र जर्मनीका साथै युरोपका अन्य धेरै देशहरूले सहयोग र लगानी गरिरहेका छन्, जसले उनीहरूलाई पनि यो अपराधको मतियार बनाएको छ ।’

 

महोत्सवको उद्घाटन सत्रमा आयोजित एउटा प्यानल छलफलमा पत्रकारले जर्मन सरकारले ‘गाजा नरसंहारमा पुर्‍याएको समर्थन’ र ‘मानव अधिकारका मुद्दामा देखाएको विभेदपूर्ण व्यवहार’ का बारेमा निर्णायक मण्डलको धारणा के हो भनी प्रश्न गरेका थिए । 

 

जवाफमा सात सदस्यीय निर्णायक मण्डलका अध्यक्ष विम वेन्डर्सले चलचित्रकर्मीहरू राजनीतिमा मुछिन नहुने बताएका थिए । अर्की निर्णायक सदस्य एवं पोलिस चलचित्र निर्माता इभा पुस्जिन्स्काले यस्तो प्रश्न सोध्नु ‘अन्यायपूर्ण’ हुने प्रतिक्रिया दिँदै सरकारले इजरायल वा प्यालेस्टाइनमध्ये कसलाई समर्थन गर्छ भन्ने कुरामा चलचित्रकर्मी जिम्मेवार हुन नसक्ने तर्क गरेकी थिइन् । 

उनले भनिन्, ‘संसारमा अरु पनि धेरै युद्धहरू भइरहेका छन्, जहाँ नरसंहार भइरहेको छ तर हामी त्यसबारे त कुरा गर्दैनौँ । अनि गाजाबारे मात्र किन ?’

प्यालेस्टाइनको गाजामा इजरायलद्धारा गरिएको अत्यन्त क्रूर हमलामा इजरायललाई सबै भन्दा धेरै हतियार उपलब्ध गराउनेमा पहिलो अमेरिका र दोस्रो जर्मनी पर्ने गर्छ । यसको विरोध गर्दै कयौँ कलाकारहरूले बर्लिन फिल्म फेस्टिबलमा सरकारको विरोध जनाउँदै प्यालेस्टिनी जनताको पक्षमा ऐक्यबद्धता जनाएका थिए ।

तर, जर्मनीमा प्यालेस्टाइन तथा गाजाको समर्थन गर्नेहरूप्रति जर्मन सरकार भने कडा रूपमा प्रस्तुत हुँदै आएको छ । 

सन् २०२४ मा पाँच सय भन्दा बढी अन्तर्राष्ट्रिय कलाकार, चलचित्रकर्मी र लेखकहरूले अभिव्यक्तिको स्वतन्त्रता कुण्ठित गरेको भन्दै जर्मन लगानीका सांस्कृतिक संस्थाहरूसँग काम नगर्न आह्वान गरेका थिए । उनीहरूले जर्मनीको नीतिको विरोध गर्दै त्यसलाई अमेरिकाको ‘म्याकार्थिस्ट नीति’ सँग तुलना गरेका थिए । 

अभियानका आयोजकहरूका अनुसार, जर्मनीले इजरायललाई गरिरहेको बिना सर्त समर्थनको विरोध गर्ने वा प्यालेस्टाइनको पक्षमा उभिने संस्कृतिकर्मीलाई छानिछानी हटाउनका लागि उनीहरूको सामाजिक सञ्जाल र सार्वजनिक अभिव्यक्तिहरूको सूक्ष्म निगरानी गरिरहेको छ ।

अरुन्धती रोयको सन् १९८९ को फिल्म ‘इन ह्वीच एनी गिभ्स इट डोज वन्स’ महोत्सवको ‘क्लासिक्स’ खण्डमा प्रदर्शनका लागि छनोट भएपछि उनी फेब्रुअरी १२ देखि २२ सम्म चल्ने उक्त महोत्सवमा सहभागी हुने कार्यक्रम थियो । 

तर, निर्णायक मण्डलको पछिल्लो अभिव्यक्तिपछि उनले यो प्रतिष्ठित महोत्सवमा भाग नलिने बताएकी हुन् । लेखिका रोयको यो निर्णयले अन्तर्राष्ट्रिय चलचित्र तथा कालाकारको दुनियाँमा ठुलै तरङ्ग पैदा गरेको छ भने यसले बर्लिन फिल्म फेस्टिबललाई पनि विवादमा ल्याई दिएको छ । 

कमेन्टहरु