मलेसियाको जोहरमा २ नेपालीसहित २६ जना पक्राउ


रामजी प्रजापति। क्वालालम्पुर, १२ फेब्रुअरी २०२६ । Jabatan Imigresen Malaysia (अध्यागमन विभाग) जोहर राज्यको मुअार शाखाले Polis Diraja Malaysia (PDRM) सँगको सहकार्यमा मुअार क्षेत्रमा संयुक्त अपरेशन सञ्चालन गर्दै २६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।
२४ स्याबान १४४७ हि./१२ फेब्रुअरी २०२६ मा जारी गरिएको प्रेस विज्ञप्तिअनुसार, फेब्रुअरी १० तारिख बिहान ९ बजेदेखि सुरु गरिएको “ओप्स बेरसेपाडु” (संयुक्त अपरेशन) मा अध्यागमन मुअार शाखा र प्रहरीका २३ जना अधिकृत सहभागी थिए। अपरेशन आप्रवासन कानुन उल्लङ्घन, गैरकानुनी रूपमा बसोबास (PATI), पास दुरुपयोग तथा रोजगारसम्बन्धी नियम विपरीत गतिविधि नियन्त्रणका लागि सञ्चालन गरिएको जनाइएको छ।
अध्यागमनका अनुसार, पक्राउ परेका २६ जनामध्ये १० पुरुष म्यानमारका, ९ पुरुष बंगलादेशका, २ पुरुष नेपालका, २ महिला म्यानमारका र ३ महिला इन्डोनेसियाका छन्। पक्राउ परेकाहरूको उमेर १९ देखि ४८ वर्षबीच रहेको जानकारी प्राप्त भएको छ।
विभागले सबैलाई अध्यागमन ऐन १९५९/६३ तथा अध्यागमन नियमावली १९६३ अन्तर्गत अनुसन्धानका लागि हिरासतमा राखेको जनाएको छ। उनीहरूलाई थप छानबिन तथा कानुनी प्रक्रियाका लागि सेतिया ट्रोपिका अध्यागमन डिपोमा राखिएको छ। जाँचका क्रममा अनुसन्धान सहयोगका लागि ५ थान ‘बोराङ २९’ (साक्षी समन) पनि जारी गरिएको विभागले जनाएको छ।
जोहर अध्यागमन विभागका निर्देशक दातो’ हाजि मोह्द रुस्दी बिन मोह्द दारुसले कानुन उल्लङ्घन गर्ने कुनै पनि गतिविधिप्रति शून्य सहनशीलता नीति अवलम्बन गरिने स्पष्ट पार्दै यस्ता अपरेशन आगामी दिनमा पनि निरन्तर जारी रहने बताए। साथै, शंकास्पद गतिविधि देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
























