विश्व

बंगलादेश निर्वाचन परिणाम : तारिक रहमानको बीएनपीले गर्‍यो बहुमतको दाबी

नवलपुर टुडे
२०८२ फाल्गुन १ | बिहान ०७:११ बजे
 
काठमाडौं । अनौपचारिक परिणामहरूले तारिक रहमान नेतृत्वको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले बलियो अग्रता लिएको देखिएको छ ।

बंगलादेश निर्वाचन आयोगबाट अझै आधिकारिक परिणाम घोषणा भएका छैन । आयोगले शुक्रबार कुनै समयमा परिणाम सार्वजनिक गर्ने अपेक्षा गरिएको अलजजिराले जनाएको छ ।

यसैबीच, बीएनपीले सामाजिक सञ्जालमार्फत बहुमत प्राप्त गरेको दाबी गरेको छ । अर्को सरकार गठन गर्ने बताउँदै बीएनपीले सामाजिक सञ्जालमा पोस्ट सेयर गरी आफ्नो जितको उत्सव मनाएको छ ।

“बीएनपीले बहुमत सिट जितेर सरकार गठन गर्न तयार छ,” बीएनपी मिडिया सेलले भनेको छ, “बीएनपी र यसका सहयोगीहरूले २११ सिट जितेका छन्, दुई–तिहाइ बहुमत सुनिश्चित भएको छ ।”

स्थानीय प्रसारक जमुना टेलिभिजनले बीएनपी र यसका सहयोगीहरूले २११ सिट जितेको र सदनमा दुई–तिहाइ बहुमत हासिल गरेको बताएको छ ।

प्रसारकका अनुसार, जमात–ए–इस्लामी गठबन्धनले ७० सिट जितेको छ भने अन्य पार्टीहरूले ६ सिट जितेका छन् ।

२९९ निर्वाचन क्षेत्रमध्ये २८७ क्षेत्रमा परिणाम घोषणा भइसकेका छन् । 

मतगणना जारी छ र स्थानीय मिडियाहरूले जिल्लाका रिटर्निङ अफिसरहरूले घोषणा गरेका प्रारम्भिक तालिकाका आधारमा परिणामहरू रिपोर्ट गरिरहेका छन् । तर, निर्वाचन आयोगको परिणाम वेबसाइट आइसकेको छैन । 

आयोगले आगामी केही घण्टाभित्र परिणाम घोषणा गर्ने अपेक्षा गरिएको छ । आधिकारिक प्रक्रियामा समय लाग्ने बताइएको छ, किनकि प्रत्येक मतदान केन्द्रमा मतहरू पहिले कागजमा रेकर्ड गरिन्छन् । अधिकारीहरू र उमेदवारका प्रतिनिधिहरूले हस्ताक्षर गर्छन् र सार्वजनिक रूपमा टाँसिन्छन् । त्यसपछि प्रतिलिपिहरू सुरक्षासहित निर्वाचन क्षेत्रका रिटर्निङ अफिसरसमक्ष पुर्‍याइन्छन्, जसले सबै केन्द्रका रिटर्नहरू संकलन गर्छन्, योग्य हुलाक मतहरू थप्छन् र कुल योगलाई निर्वाचन आयोगको प्रणालीमा अपलोड गर्छन् ।

जमात–ए–इस्लामीका प्रमुख शफिकुर रहमानले आफ्नो पार्टीले निर्वाचनको जुनसुकै परिणाम आए पनि सम्मान गर्ने बताएका छन् । हार भए पनि विरोधको राजनीतिमा संलग्न नहुने बताएका छन् ।

सदनमा कुल ३५० सांसद हुन्छन्, जसमध्ये ३०० सांसद एकल सदस्य निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुन्छन् । थप ५० सिट महिलाका लागि आरक्षित छन् । एक उमेदवारको मृत्युका कारण २९९ सिटमा मात्र निर्वाचन भएको थियो ।

बंगलादेशमा यो सन् २०२४ को विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनपछि पहिलो निर्वाचन हो, जसले १५ वर्षको शेख हासिनाको शासन अन्त्य गरेको थियो । 

नयाँ सरकारका लागि मतदान गर्नुका साथै संविधान परिवर्तनका लागि जनमतसंग्रहमा पनि भाग लिएका थिए । 

राजनीतिक सुधारसम्बन्धी जनमतसंग्रहमा प्रधानमन्त्रीको कार्यकाल सीमा, कार्यकारी शक्तिमा बलियो नियन्त्रण तथा सन्तुलन र संसदीय शक्तिको एकीकरण रोक्ने अन्य सुरक्षा उपायहरू समावेश थिए ।

विद्रोहको क्रममा करिब १४ सय प्रदर्शनकारी मारिएको बताइन्छ । दमनको आदेश दिएको आरोप हासिनामाथि लगाइएको छ, जसलाई उनले अस्वीकार गरेकी छन् । हासिनाको पार्टी आवामी लिगलाई यो निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको थियो । शेख हासिना देश छाडेपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारले बंगलादेशको नेतृत्व गरिरहेको छ ।

स्थानीय अखबार ‘द डेली स्टार’का अनुसार, बंगलादेशभर मतदानका क्रममा १४ वटा अलग–अलग घटनामा कम्तीमा ७२ जना घाइते भएका छन् । सबैभन्दा बढी घाइते (३१ जना) नोआखालीको हातियामा बीएनपी र नेसनल सिटिजन पार्टीका समर्थकहरूबीच भएको झडपमा परेका थिए । अलजजिराबाट । 

कमेन्टहरु