समाज

अभिनेत्री श्रीलीला अब आधिकारिक डाक्टर

एजेन्सी
२०८२ माघ २९ | मध्यान्ह ०२:१० बजे

मुम्बई । दक्षिण भारतीय चलचित्रकी चर्चित अभिनेत्री श्रीलीला आधिकारिक रुपमै डाक्टर बनेकी छन् ।उनले मेडिकल अध्यायनमा डिग्री हासिल गरेकी हुन् । विगत ६ वर्षदेखि चलचित्र उद्योगमा सक्रिय उनले अध्यायन पनि अगाडि बढाउँदै आएकी थिइन् । उनले मुम्बईको चर्चित डीवाई पाटिल विश्वविद्यालयबाट एमबीबीएस डिग्री हासिल गरेकी हुन् ।

फेब्रुअरी १० मा आयोजित दीक्षान्त समारोहका तस्बिर र भिडियोहरू यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । अभिनेत्रीले हासिल गरेको यो सफलता देखेर प्रशंसकहरूले खुसी व्यक्त गरिरहेका छन् । 

 

समारोहमा श्रीलीला मरुन रंगको गाउनमा सजिएर मञ्चमा आफ्नो डिग्री ग्रहण गरिरहेको देखिएकी छन् । उनले अन्य सहपाठीहरूसँगै लाइनमा बसेर आफ्नो प्रमाणपत्र लिइन् र खुसी हुँदै परिवारलाई अंकमाल गरिन् । भिडियोमा उनले साथीहरूसँगै डाक्टरले लिने सपथ लिइरहेको देख्न सकिन्छ ।

 

सन् २०२० ब्याचकी विद्यार्थी श्रीलीला डाक्टर बनेको घोषणा हुँदा त्यहाँ उपस्थित सबैले खुसी मनाएका थिए । श्रीलीलाको अनुशासन र लगनशीलता देखेर उनका फ्यानहरू अचम्मित छन् । सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘चलचित्रमा काम गर्दागर्दै मेडिकल पढाइ कसरी पूरा गर्नुभयो ? जहाँ पासिङ मार्क्स ल्याउन पनि मुस्किल हुन्छ ।’

 

अर्का एक प्रयोगकर्ताले उनलाई वास्तवमै बुद्धिमान र मिहिनेती भन्दै तारिफ गरेका छन् । धेरैले उनलाई डाक्टर श्रीलीला सम्बोधन गर्दै बधाई दिइरहेका छन् ।

 

श्रीलीला एक तेलुगु परिवारबाट हुन् । उनकी आमा स्वर्णलता बेङ्गलुरुकी एक प्रसिद्ध स्त्री रोग विशेषज्ञ हुन् । श्रीलीलाले कन्नड चलचित्र ‘किस’बाट मुख्य भूमिकामा डेब्यु गरेकी थिइन् । त्यसपछि उनले ‘धमाका’, ‘भगवन्त केसरी’, ‘गुुुन्टुर कारम’, ‘रोबिनहुड’ र ‘मास जथारा’ जस्ता चलचित्रमा रवि तेजा, बालकृष्ण र महेश बाबुजस्ता ठुला सुपरस्टारहरूसँग काम गरिसकेकी छन् ।

फिल्म ‘पुष्पा २’ को चर्चित गीत ‘किस्सिक’मा पनि उनी देखिएकी थिइन् । अब उनी अनुराग बसुको रोमान्टिक चलचित्र मार्फत कार्तिक आर्यनको जोडी बनेर बलिउडमा डेब्यु गर्दैछिन् भने पवन कल्याणसँगको ‘उस्ताद भगत सिंह’ पनि उनको आउने फिल्म हो ।

कमेन्टहरु