कोलम्बोस्थित नेपाली राजदूतावासको आयोजनामा माल्दिभ्समा नेपाल कम्युनिटी सपोर्ट क्याम्प


काठमाडौ । श्रीलङ्काको कोलम्बोस्थित नेपाली राजदूतावासको आयोजनामा माल्दिभ्समा कार्यरत नेपाली श्रमिकहरूको समस्या समाधान र स्वास्थ्योपचार गर्ने उद्देश्यले राजधानी मालेस्थित कामना मालाममा ‘नेपाल कम्युनिटी सपोर्ट, हेल्थ चेक तथा कन्सुलर सेवा क्याम्प–२०२६’ कार्यक्रम सञ्चालन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि माल्दिभ्सका पूर्व उपराष्ट्रपति अब्दुल्ला जिहादले नेपाली समुदायको मेहनत र इमानदारीको खुलेर प्रशंसा गर्नुभयो । उहाँले श्रमिकहरूलाई आफ्नो आर्जन (रेमिट्यान्स) सुरक्षित रूपमा नेपाल पठाउने उपायहरूका बारेमा महत्वपूर्ण सुझाव समेत दिनुभएको थियो ।
कार्यक्रममा दूतावासका उपप्रमुख विजय कुमार राउतले माल्दिभ्सको विकासमा नेपालीहरूको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले स्वास्थ्य, निर्माण, पर्यटन र आर्थिक क्षेत्रमा नेपाली श्रमिकहरूले पुर्याएको योगदान अतुलनीय रहेको बताउँदै दूतावासले प्रदान गर्ने कन्सुलर सेवा र सहयोगबारे विस्तृत जानकारी गराउनुभयो ।
सो अवसरमा, माल्दिभ्समा समस्यामा परेका नेपालीहरूको उद्धार, कानुनी परामर्श र दूतावाससँगको समन्वयमा महत्वपूर्ण भूमिका खेलेकोमा नेपाल हेल्पलाइनलाई दूतावासका तर्फबाट धन्यवाद सहित प्रशंसा गरिएको थियो ।
कार्यक्रममा, नेपालीहरू नेपाल हेल्पलाइनकी अध्यक्ष आशिया मोहम्मद, महासचिव सरोज सापकोटा लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा, नेपाली श्रमिकहरूले भोग्दै आएका विशेषगरी राहदानी जफत र श्रम सम्झौताको उल्लङ्घन , ज्याला विवाद र श्रम शोषण र स्वास्थ्य तथा मानसिक स्वास्थ्यका चुनौतीहरू विविध समस्याहरूका बारेमा छलफल भएको थियो ।
शिविरका लागि चिकित्सा सहायता नेपाल नेत्रज्योति संघ, आईकेयर (श्रीलंका) का डा. नरेश प्रधान र आईकेयर प्रालिका सी.ओ.ओ. सन्तोष उपाध्यायद्वारा प्रदान गरिएको थियो। वरिष्ठ आँखारोग विशेषज्ञ दिनेश पाण्डे र नेत्र सहायक पुष्पराज विष्टले स्वास्थ्य परीक्षण गर्नुभएको थियो भने सो क्रममा आवश्यकता अनुसार व्यक्तिहरूलाई नि:शुल्क आईड्रप र चस्मा वितरण गरियो।हेल्थ क्याम्पमा नेपाल नेत्र ज्योति सङ्घ र विभिन्न सञ्चालित शिविरमा १ सय ५० भन्दा बढी नेपालीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । यस्ता कार्यक्रमले परदेशमा रहेका नेपालीहरूको समस्या समाधान गर्न र उनीहरूलाई राज्यको अनुभूति दिलाउन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त लिइएको छ ।

‘नेपाल कम्युनिटी सपोर्ट, हेल्थ चेक तथा कन्सुलर सेवा क्याम्प–२०२६’ कार्यक्रम ।























