निर्वाचन सहयोगका लागि आदेश लिइरहनु पर्दैन: सशस्त्र प्रहरी आईजीपी राजु अर्याल


काठमाडौ । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनको सहयोगका लागि आदेश लिइरहन नपर्ने बताएका छन् ।गण्डकी प्रदेशका विभिन्न जिल्लामा निर्वाचन सुरक्षा स्थिति बुझ्ने क्रममा महानिरीक्षक अर्यालले भूकम्प जस्ता प्रकोपमा स्वतः परिचालन भएजस्तै निर्वाचनको समयमा पनि अन्य निकायका सुरक्षाकर्मी र निर्वाचनमा खटिएका कर्मचारीलाई आवश्यक परेको खण्डमा स्वतः परिचालित हुन र परिचालन पश्चात मुख्यालयमा जानकारी गराउन निर्देशन दिएका हुन् ।
‘आदेशको पर्खाइमा नबस्नुहोस्, सुरक्षात्मक कारबाहीका लागि तत्काल परिचालन भएर जानकारी गराउनुहोस्, आदेश कुर्नु पर्दैन, यही स्थायी आदेश हो ‘, आईजीपी अर्यालले भने । अर्यालले सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की मातहत परिचालन हुने निर्वाचन प्रहरीहरुलाई समेत पूर्ण आत्मविश्वासकासाथ निर्वाचनमा परिचालन भई निर्वाचन सुरक्षामा खटिनु पर्नेमा जोड दिएका थिए ।
उनले स्याङजा र पाल्पा जिल्लाका सशस्त्र प्रहरी बल नेपालका युनिटहरुमा पनि पुगेर निर्वाचन सुरक्षाबारे जानकारी लिएका थिए । निर्वाचन विथोल्न खोज्नेहरुको प्रयास विफल बनाउन सबै सुरक्षा निकायका सुरक्षाकर्मीबीच समन्वय र सहकार्य जरुरी रहेको बताउँदै उनले निश्पक्ष निर्वाचन र मतदाताको सुरक्षामा कुनै कमीकमजोरी नगर्न निर्देशन दिए ।
सोही क्रममा स्याङजा जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जिल्लामा नै आएर शान्ति सुरक्षा बारे जानकारी लिएकोमा सुरक्षा व्यवस्थापनमा थप उर्जा मिलेको बताए । यसैगरी महानिरीक्षक अर्यालले स्याङजा वालिङ्गस्थित सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म र निर्वाचन सुरक्षा बेश गल्याङ पुगेर निर्वाचन तयारीबारे जानकारी लिनुकासाथै आवश्यक निर्देशन दिए ।
उनले सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म पाल्पा पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएका छन् । सो क्रममा गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक झुपा कुमारी पन्थीले निर्वाचन सुरक्षा बारे जानकारी गराउनुका साथै प्रमुख जिल्ला अधिकारी विनु बज्रचार्य कुँवरलगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसँग जिल्लाको शान्ति सुरक्षा र निर्वाचन सुरक्षाबारे जानकारी समेत लिएका थिए ।
यसैगरी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सुदूरपश्चिम प्रदेश अन्तर्गत नं. ७ बाहिनी मातहत सशस्त्र प्रहरी बल नेपालका युनिटहरुको अनुगमन गरी निर्वाचन सुरक्षाबारे जानकारी लिएका छन् ।























