काठमाडौँमा टी–२० शृंखला खेल्न भारत, इंग्ल्यान्ड र अस्ट्रेलियालाई कप्तान रोहित पौडेलको आह्वान


काठमाडौँ, माघ २८। नेपालका कप्तान रोहित पौडेलले मंगलबार क्रिकेट शक्तिराष्ट्र भारत, इंग्ल्यान्ड र अस्ट्रेलियालाई आफ्नो देशमा टी–२० शृंखला खेल्न भ्रमण गर्न आह्वान गरेका छन्।
आइतबार मुम्बईमा भएको टी–२० विश्वकप खेलमा नेपालले ह्यारी ब्रुकको इंग्ल्यान्डविरुद्ध चार रनले पराजित हुँदै इतिहासकै ठूलो उलटफेर गर्नबाट एक बलले मात्र चुक्यो। अन्तिम बलमा छक्का आवश्यक हुँदा लोकेश बमले स्याम करनको बलमा केवल एक रन मात्र जोड्न सके।इटालीसँग बिहीबार मुम्बईमा हुने खेलको तयारी गरिरहेका कप्तान पौडेलले भने, ‘मेरो सन्देश ती सबै टोलीलाई हार्दिक स्वागत छ भन्ने हो। उनीहरूले कीर्तिपुर र काठमाडौँमा हामीसँग खेल्न रमाइलो मान्नेछन् र नेपालमा उनीहरूले न्यानो आतिथ्य पाउनेछन्।’
उनले थपे, ‘अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत— जोसुकै आए पनि हाम्रो क्रिकेटको विकास हुनेछ र क्रिकेटलाई विश्वव्यापी बनाउन मद्दत पुग्नेछ। त्यसैले यो अत्यन्त महत्वपूर्ण छ।’ नेपालले केवल इंग्ल्यान्डसँग मात्र कडा प्रतिस्पर्धा गरेको होइन, २०२४ को टी–२० विश्वकपमा दक्षिण अफ्रिकासँग पनि एक रनले पराजित भएको थियो, जुन टोली पछि फाइनलसम्म पुगेको थियो।
कप्तान पौडेलका अनुसार यी दुई नतिजाले नेपाली क्रिकेटको पहिचान उकासेको छ। उनले भने, ‘दक्षिण अफ्रिकाविरुद्ध पहिलो पटक हामी यति नजिक पुगेका थियौँ। तर इंग्ल्यान्डविरुद्धको पछिल्लो खेलले हामीलाई झन् धेरै चर्चा दिलाएको छ।’
यस विश्वकपका प्रारम्भिक समूह चरणका खेलहरूमा भारत, पाकिस्तान र इंग्ल्यान्डजस्ता टेस्ट राष्ट्रहरूले पनि गैर–टेस्ट राष्ट्रहरूबाट कडा चुनौती सामना गरेका छन्।
इंग्ल्यान्डका जोस बटलरले मंगलबार टी–२० ढाँचालाई ‘समताको खेल’ भन्दै भने, ‘टी–२० विश्वकपमा सामान्यतया खेलहरू निकै प्रतिस्पर्धात्मक हुन्छन्। एक–दुई खेलाडीले मात्र पनि खेल जिताउन सक्छन्। त्यसैले धेरै नजिकका खेलहरू देख्न पाइनेछ।’
गत वर्ष वेस्ट इन्डिजले नेपालसँग टी–२० शृंखला खेलेको थियो, जहाँ उनीहरू २–१ ले पराजित भएका थिए। वेस्ट इन्डिजका मुख्य प्रशिक्षक ड्यारेन स्याम्मीले यस्ता खेलहरू महत्त्वपूर्ण हुने बताए।
इंग्ल्यान्डविरुद्ध बुधबार हुने खेलअघि उनले भने, ‘हामीले सकेसम्म क्रिकेटको विकास गर्नु हाम्रो जिम्मेवारी हो। अस्ट्रेलिया, भारत वा वेस्ट इन्डिज— जसले नेपालसँग खेले पनि, खेलको विस्तार गर्न हामीले सहयोग गर्नुपर्छ।’उनले थपे, ‘एसोसिएट टोलीहरूसँग खेल्दा उनीहरूलाई बढी अनुभव र अवसर मिल्छ भने त्यो खेलकै लागि राम्रो कुरा हो।’























