चितवन क्षेत्र नम्बर १ः महिला मतदाता बढी उम्मेदवार कम

रासस
२०८२ माघ २६ | मध्यान्ह ०१:१० बजे

चितवन, माघ २६। चितवनका तीन नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा महिला मतदाताको सङ्ख्या आधाभन्दा बढी छ । यहाँ उम्मेदवार हुने महिलाको सङ्ख्या भने निकै कम रहेको छ।
पूर्बी चितवनको रत्ननगर, खैरहनी र राप्ती नगरपालिका समेटिएको यस क्षेत्रमा एक लाख ४९ हजार ६२१ मतदाता रहेका छन् । तीमध्ये ५० दशमलव ७० प्रतिशत अर्थात् ७५ हजार ८६० महिला मतदाता रहेका छन् । पुरुषको सङ्ख्या ७३ हजार ७६१ रहेको छ । यो ४९ दशमलव ३० प्रतिशत हो । महिला मतदाताको सङ्ख्या बढी भए पनि १८ जना प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवर भए पनि दुई जना मात्र महिला रहेका छन् । ती साना दलका हुन् ।
यस क्षेत्रमा ५६ वटा मतदानस्थलमा १६८ वटा मतदान केन्द्र रहेका छन् । यस क्षेत्रको राप्ती नगरपालिकाको केही भूभाग पहाडी क्षेत्रमा पर्दछ भने बाँकी समथर क्षेत्र पर्दछ ।























