अपराध

रुपन्देही अदालतमा तारिख लिएर हतार हतार दौडिए रबि, अर्को तारिख चैत्र ५ गते

नवलपुर टुडे
२०८२ माघ २६ | मध्यान्ह ०६:१० बजे

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज रुपन्देही जिल्ला अदालतमा तारेख लिएका छन् । माघ ६ गते उम्मेदवारी मनोनयनको तारेख लिएका रविलाई आज पनि अदालतमा हाजिर हुन मिति तोकिएको थियो । त्यही मेसोमा उनी ११ बजे अदालतमा हाजिर हुन पुगेका थिए ।

“साधारण तारेख लिनुभएको हो”,अदालतका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले भने । सीमित कार्यकर्ता लिएर अदालत प्रवेश गरेका रवि हतार हतार निस्किए । कार्यकर्तालाई खाना खाने बताएर उनले तारेख लिएका हुन् ।

सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको पाइएको छ । यसमध्ये २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण लिएको पाइएको छ । गोरखा मिडिया नेटवर्कले ११ फागुन २०७७ मा ग्यालेक्सी टीभी सञ्चालनमा ल्याएको थियो । गोर्खा मिडिया नेटवर्कमा शुरुमा गितेन्द्रबाबु राई र छविलाल जोशी शेयर सदस्य थिए । त्यसबेला राई र जोशीको समान २ लाख ५० हजार कित्ता शेयर थियो ।

सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ्ग र पूर्व डिआइजी उपाध्यक्ष छविलाल जोशी बन्जाडे सोही अपराधमा भैरहवा कारागारमा छन् । रविलाई भने तुलसीपुर उच्च अदालत, बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश गरेको थियो । अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले गत पुस ३ गते बिगो बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी माग गरी धरौटीमा छोेड्ने आदेश गरेको हो ।

तारेख लिन रुपन्देही आएका रवि आज बिहानैदेखि जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा चुनावी दौडाहामा छन् । उनले पाँच क्षेत्रका २६ ठाउँमा सम्बोधन गर्ने कार्यक्रम चलिरहेको छ । उनको आगामी तारेख चैत ५ लाई तोकिएको छ ।

कमेन्टहरु