समाचार

दूधाधारी नमुना माविले मनायो ६८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

धर्मेन्द्र कुमार कुर्मी
२०८२ माघ २५ | बिहान ०६:१० बजे

विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिका-१ गुगौलीमा अवस्थित दूधाधारी नमुना माध्यमिक विद्यालयले शनिबार ६८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ । कार्यक्रमलाई सम्बाेधन गर्दै लुम्बिनी प्रदेश सांसद तथा पूर्व उद्योग, पर्यटन तथा यातायात मन्त्री जानकी प्रसाद यादवले यस क्षेत्रको शैक्षिक विकासलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित विश्वविद्यालय स्थापना गर्ने पहल गरिने बताएका छन् । उनले शिक्षा क्षेत्रमा दीर्घकालीन सोच र लगानी अपरिहार्य रहेको उल्लेख गर्दै यस विद्यालयले पुर्याएको शैक्षिक योगदान प्रशंसनीय रहेको जिकिर गरे ।

उनले विद्यालय प्राङ्गणको सौन्दर्यीकरणका लागि संसदीय कोषबाट २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणासमेत गरे । यस्तै पूर्व मन्त्री अकबाल अहमद शाहले शिक्षा नै समृद्ध र सभ्य समाज निर्माणको आधार भएको बताउँदै विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि सबै सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिए । यसैगरी विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले स्थानीय तहले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै शिक्षालयका रूपमा विकास गर्न गाउँपालिका पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे । ड्रपआउट विद्यार्थीलाई विद्यालयमा पुर्याउने र टिकाउने प्रयासकाे याेजनामा लागेकाे अध्यक्ष थापाकाे भनाई छ । यस्तै उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले अभिभावक, शिक्षक र विद्यार्थीबीचको सहकार्यबाट मात्र गुणस्तरीय शिक्षा सम्भव हुने बताएकी छन् ।

WhatsApp Image 2026 02 08 at 06.24.08

उनले शैक्षिक सुधारमा अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै घरमा पनि बालबालिकाकाे पढाइकाे वातावरण सिर्जना गर्नुपर्नेमा जाेड दिइन्  । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रकट कोरीले विद्यालयको ऐतिहासिक पृष्ठभूमि, हालसम्मका उपलब्धी तथा भावी योजनाबारे जानकारी गराउँदै सबै सरोकारवालाको सहयोग र सहकार्यबाट विद्यालयलाई अझ सशक्त, प्रभावकारी र गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गरिने विश्वास व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक सुग्रीव प्रसाद काेरीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै भाैतिक तथा शैक्षिक उपलब्धीकाे जानकारी गराएका थिए ।

यसै अवसरमा विद्यालयकाे शैक्षिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रममा बाेल्ने वक्ताहरुले विद्यालय र अभिभावक बीचको सम्बन्ध थप सुदृढ बनाउनुका साथै शैक्षिक विकासप्रति सामूहिक प्रतिबद्धतासहित लाग्नुुपर्नेमा जाेड दिँदै अभिभावकले पनि विद्यालयप्रति चाँसाे देखाउन आवश्यक रहेकाे भन्दै सुझाव दिएका थिए ।

कमेन्टहरु