खाद्य परिकार यमरी युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत प्रक्रियामा


काठमाडौँ, माघ २३। नेवार समुदायको परम्परागत, मौलिक एवं सांस्कृतिक खाद्य परिकार यमरीलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक संस्कृतिक सङ्गठन(युनेस्को)को अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत प्रक्रियाबारे छलफल अघि बढेको छ ।काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका पदाधिकारी र समुदायका प्रतिनिधिबीचको छलफलमा यस्तो प्रक्रिया अघि बढाइएको समितिका संयोजक आशामान सङ्गतले जानकारी दिनुभयो ।
यसले सम्पदाको एकीकृत विकासमा टेवा दिन्छ । समितिले अमूर्त सांस्कृतिक सम्पदाको पहिचान, अध्ययन, अभिलेखन, विकास र प्रवर्द्धनलाई पहिलो प्राथमिक कार्यक्रममा राखेर काम गरिरहेको उहाँको भनाइ थियो ।
त्यस क्रममा समितिका सदस्य एवं वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले, सूचीकृत हुने प्रक्रियालाई निर्धारित समयभित्रै सक्नुपर्नेमा जोड दिनुभयो । “कामपाका पुराना सहरी क्षेत्रका चोकचोकमा, गुठीगुठीमा, हरेक संस्कार र परम्परामा अमूर्त सम्पदा छन् ।” उहाँले, यस्ता सम्पदाको गरिमा प्रवर्द्धनमा सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
यमरीको गरिमालाई स्थानीयस्तरमा पनि प्रवर्द्धन गर्न अभिमुखीकरण र प्रशिक्षण सञ्चालन गरिनुपर्ने महर्जनले बताउनुभयो । छलफल र अन्तक्र्रियालाई नियमितता दिइने, त्यस्ता कार्यक्रममा समुदायका अगुवाहरूको सुझाव र प्रतिक्रियालाई ग्रहण गरिने सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईको भनाइ छ ।
छलफलमा ज्यापू महागुथि नेपा, नेपाल तण्डुकार समाज, बज्राचार्य संरक्षण क्लब, कारञ्जित समाज, स्यस्यः समाज, रञ्जितकार समाज नेपाल, चित्रकार (पूँ) समाज, केन्द्रीय मानन्धर सङ्घ, कपाली समाज, उदय समाज, नेपाल माली समाज, कसाः तध गुथि, ताम्राकार समाज, राजकर्णिकार समाज, रजक समुदाय विकास सङ्घ, द्योला समाज सङ्घ, नेपाल खड्गी सेवा समिति, नकःमि समाज सेवा पुचः, नेपाल नापित समाजका पदाधिकारी तथा प्रतिनिधिहरूले धारणा राख्नुभएको थियो ।
अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि २००३ मा भएको हो । नेपाल सन् २०१० मा पक्ष राष्ट्र भएको हो । यसअन्तर्गत आफ्नो देशभित्र रहेका अभौतिक सांस्कृतिक सम्पदाहरूको सूची तयार पार्नु, अनुसन्धान गर्नु, सुरक्षा, संरक्षण र प्रवर्द्धन तथा परम्परालाई निरन्तरता दिनु महत्त्वपूर्ण कामहरू हुन् ।























