जथाभाबी पार्किङ गरेर राखिएका ९ वटा रात्रिबस नियन्त्रणमा


काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले जथाभाबी पार्किङ गरी सवारी आवागमनमा अवरोध सिर्जना गर्ने नौ रात्रिकालीन बसलाई नियन्त्रणमा लिएको छ ।आज उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष जाँच अभियानका क्रममा उक्त ९ वटा बसलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनले भने, “हामीले नियन्त्रणमा लिइएका बसमध्ये केहीको बाटो इजाजतपत्र (रुट परमिट) को म्याद सकिएको दुई वर्षसम्म भएको देखिएको छ । यसबारे हामी यातायात व्यवस्था विभागसँगको समन्वयमा थप प्रक्रिया अगाडि बढाउने छौँ ।”
नियन्त्रणमा लिइएका ती ९ वटा बसलाई अहिले उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा राखिएको छ । ती बसहरूले सडकमा अनावश्यक जाम सिर्जना गर्नुका साथै यात्रु तथा अन्य सवारी साधनलाई समेत असहज अवस्था उत्पन्न गराएको ट्राफिक प्रहरीले जनाइएको छ ।
“रुट परमिट उल्लङ्घन गरी अव्यवस्थित रूपमा पार्किङ गर्दा सवारी आवागमनमा गम्भीर असर परिरहेको थियो,” उनले भने, “नियन्त्रणमा लिइएका बसलाई यातायात व्यवस्था ऐन, २०४९ अन्तर्गत दफा ७५ र दफा १६० अनुसार कारबाही गरिने छ ।”बुधबार मात्रै ट्राफिक प्रहरीले जथाभावि पार्किङ गरिएका लामो दुरीका १५ रात्रिकालीन बसहरुलाई नियन्त्रणमा लिएको थियो ।























