देश

बाग्लुङमा बढ्यो कोरोना संक्रमण, १० दिनका लागि कडा निषेधाज्ञा

जगत ठाडा मगर
२०७८ साउन २६ | मध्यान्ह ०५:०४ बजे

बाग्लुङ । कोरोना संक्रमणको दर दिन प्रतिदिन बढ्दै गएपछि बाग्लुङमा थप कडाइ गरिएको छ। केही सातायता खुकुलो बनाइएको निषेधाज्ञामा पुन: संक्रमणको दर बढ्दै गएपछि थप कडा गरिने भएको छ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) को मंगलबार बसेको बैठकले पछिल्ला केही दिनमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको र सक्रिय संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले तत्काल रोकथामका लागि जिल्लाभर निषेधाज्ञा कडा पार्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले नवलपुर टुडेलाई जानकारी दिए।

बैठकले आउँदो बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी आगामी भदौ ५ गते राति १२ बजेसम्मका लागि जिल्लाभर १० दिन निषेधाज्ञा गर्ने निर्णय गरेको गौतमले जानकारी दिए ।

निषेधाज्ञाको समयमा बैंक, वित्तीय संस्था, जिल्लाभित्रको यातायात पूर्ण रूपमा बन्द हुनेछ । बैठकले दैनिक उपभोग्य खाद्यान्न पसल पशुपक्षीको दाना पसल आइतबार, बुधबार र शुक्रबार बिहान १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ।

त्यसैगरी तरकारी, फलफूल, दूध जन्य पदार्थ माछा मासुका पसलहरू बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन गरिएको छ। बैठकले लोकसेवा, टियूका परीक्षा, विद्यालयको परीक्षा भने सम्बन्धित शैक्षिक संस्था समन्वय गरेर मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ।

बाग्लुङ सदरमुकामबाट विभिन्न स्थानीय तहमा सञ्चालन हुने खाद्य सामग्री तथा दाना ढुवानी गर्ने सवारीसाधनहरू आइतबार बुधबार र शुक्रबार मात्र सञ्चालन हुने र ढुवानीका सवारीसाधनले बिहान १० बजेभित्र बाग्लुङ बजार छाडिसकेको हुनुपर्ने गौतमले बताए।

गत वैशाखदेखि सुरु गरिएको लकडाउनमा असारमध्यदेखि केही खुकुलो बनाउँदै लगिएको थियो। तर, खुकुलोपन बढेसँगै कोरोना संक्रमण दर झनै तीव्र गतिमा बढेको छ।

अहिले जिल्लामा संक्रिय संक्रमितको संख्या ६ सय ४१ पुगेको छ। बाग्लुङ नगरपालिकामा मात्रै तीन सय ६ जना संक्रमित पुगेको स्वास्थ्य कार्यालय बाग्लुङका कोरोना स्रोतव्यक्ति देवप्रकाश घिमिरेले बताए।

कमेन्टहरु