प्रहरी कर्मचारीहरूलाई निर्वाचन लक्षित


काठमाडौँ, माघ २२। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारीलाई निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम बुधबारदेखि प्रहरी प्रधान कार्यालयमा सुरू भएको छ ।निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्ने प्रयोजनको लागि प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षार्थ खटिने प्रहरी कर्मचारीलाई तालिम दिइएको हो ।
यसैगरी, सबै जिल्ला प्रहरी कार्यालयमा गठित निर्वाचन ‘सेल’मार्फत चरणबद्ध रूपमा निर्वाचनको सुरक्षार्थ खटिने प्रहरीलाई निर्वाचन लक्षित तालिम सञ्चालन गरिने छ ।
तालिममा निर्वाचन सुरक्षा, परिचय, निर्वाचनमा प्रहरीको भुमिका, सुरक्षा व्यवस्थापन, निर्वाचन सुरक्षा र प्रहरीले सुरक्षा व्यवस्थामा अपनाउनुपर्ने भूमिका वा अवस्थाहरू, निर्वाचन कार्यमा सुरक्षा पुयाउनुपर्ने क्षेत्रहरू, निर्वाचनमा आई पर्नसक्ने समस्याहरू, विभिन्न व्यक्तिहरूले प्रहरीबाट पाउने सेवाको अपेक्षा तथा निर्वाचनमा प्रहरीको दायित्व, मतदानकेन्द्रको निर्माण, मतदान केन्द्र निर्माण गर्दा ध्यान दिनुपर्ने विषय, निर्वाचन आचारसंहिता, २०८२ अन्तर्गत सुरक्षा निकाय, सुरक्षाकर्मी तथा सुरक्षासम्बद्ध कर्मचारीले पालना गर्नुपर्ने आचरण, निर्वाचन व्यवस्थापन सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति, २०७७, प्रहरी ऐन, २०१२ तथा प्रहरी नियमावली, २०७१ मा भएका निर्वाचनसम्बन्धी (अपराध एवं दण्ड सजायसम्बन्धी व्यवस्था)लगायतका विषयवस्तुहरूमा प्रशिक्षण दिइने छ ।























