निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकप्रतिनिधिबीच समझदारी


काठमाडौँ, माघ २१। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताउनुभएको छ ।
निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकका प्रतिनिधिसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उहाँले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताउनुभयो ।
कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई र टिकटकका तर्फबाट सामाजिक नीति र सरकारी सम्बन्ध प्रमुख फेर्दोस अल मत्ताकिनले समझदारीपत्र आदानप्रदान गर्नुभएको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वच्छता कायम गर्न यसबाट सहयोग पुग्ने विश्वास गरिएको छ । निर्वाचनमा स्वच्छता प्रवर्द्धन तथा आयोगको क्षमता अभिवृद्धिका लागि टिकटकले सहयोग गर्ने भएको छ । साझेदारीले निर्वाचनसम्बन्धी सही, भरपर्दो र समयमै सर्वसाधारणको पहुँचमा सूचनाको पहुँच पु¥याउन सहयोग पुग्ने विश्वास आयोगले गरेको छ ।
समझदारीले निर्वाचनलाई असर पार्नसक्ने भ्रामक सूचना तथा हानिकारक सामग्रीको नियन्त्रणका लागि आयोगबाट भइरहेको प्रयासमा योगदान पु¥याउने विश्वास गरिएको छ ।























