चितवनका छ हजार बढी बालिकाहरुलाई एचपिभी खोप

रासस
२०८२ माघ २१ | मध्यान्ह ०४:१० बजे

चितवन, माघ २१। जिल्लाका छ हजार ७६८ बालिकाहरुलाई पाठेघरको मुखमा हुने क्यान्सर हुन नदिने भ्याक्सिन एचपिभी खोप लगाइने भएको छ । यहाँका ७२५ वटा विद्यालय र ११४ स्वास्थ्य केन्द्रबाट ती बालिकाहरुलाई खोप दिन लागिएको हो ।
जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार खोपका लागि आवश्यक भ्याक्सिन आइसकेको छ । उहाँले भन्नुभयो, “खोप लगाउनका लागि आवश्यक सात हजार भ्याक्सिन आइसकेको छ”, १० देखि १४ वर्षका किशोरीहरुलाई यो खोप दिन लागिएको हो । कक्षा ७ देखि १० कक्षासम्मका किशोरी र विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई ती खोप केन्द्रबाट खोप दिइने उहाँले बताउनुभयो । माघ २५ गतेदेखि फागुन १ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र बकुलर अस्पतालका प्रमुख डा अङ्कित पौडेलले नेपालमा पाठेघरको क्यान्सरका कारण मृत्यु हुने महिलाको सङ्ख्या बढ्दै गएको अवस्थामा यो खोप अनिवार्य रहेको बताउनुभयो । यस अभियानलाई सफल बनाउन सबैको हातेमालो आवश्यक रहेको उहाँहरुले बताउनुभयो ।


















