देउवालाई ओलीको प्रश्न : एमसीसी के गर्नुहुन्छ, पास गर्ने कि फेल गर्ने ?

जगत ठाडा मगर
२०७८ साउन २६ | मध्यान्ह ०३:०४ बजे

काठमाडौं । प्रमुख विपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता के गर्नुहुन्छ भनेर प्रधानमन्त्री देउवालाई प्रश्न उठाएका छन् ।
मंगलबार संसद बैठकलाई सम्बोधन गरेका एमाले संसदीय दलका नेता ओलीले सरकारको साझा न्यूनमत कार्यक्रममा एमसीसी उल्लेख नभएको भन्दै प्रश्न उठाएका हुन् । ‘एमसीसी बिर्सनु भयो कि क्या हो ? मैले देखिनँ कतै,’ उनले भनेका छन्, ‘नेपाली जनताले जान्न चाहेको छ, सम्माननीय प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ एमसीसी तपाईं ।’
सरकारले आफूले एमसीसी पास गर्नुपर्छ भनेर कुनै समय बोलेको क्लिप प्रयोग गरेर वातावरण बनाउन खोजेको ओलीको आरोप रहेको छ । सरकारसँग १६५ सांसद रहेको भन्दै उनले भने, ‘१६५ को सबल जत्थाले के भन्छ ? एमसीसी पास गर्ने कि फेल गर्ने ? यो विषयमा किन मौन ?’






















