‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’


नारायणगढ (चितवन),माघ १९। भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक मानिन्छ । सूर्यको प्रकाशसँग सम्पर्कमा आउँदा शरीरमा उत्पादन हुने भिटामिन डी को कमी हुँदा शरीरमा विभिन्न समस्या देखा पर्न थाल्छ । चिकित्सकका अनुसार मासु, अण्डा तथा दुग्धजन्य पदार्थमा भिटामिन डी पाइन्छ । भिटामिन डीयुक्त खाना खाएर यसको कमी धेरै हदसम्म हटाउन सकिन्छ, तर केही अवस्थामा सप्लिमेन्ट आवश्यक पर्छ ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन तथा इन्डोक्राइनोलोजिस्ट, एसोसिएट प्रोफेसर डा कल्याण सापकोटाका अनुसार, भिटामिन डीको कमी बच्चादेखि वृद्धसम्म सबै उमेर समूहमा स्वास्थ्य समस्या निम्त्याउन सक्छ । यसलाई ‘सनसाइन भिटामिन’ पनि भनिन्छ । डा सापकोटाले भन्नुभयो, “भिटामिन डी हर्मोन पनि हो । हाम्रो छालामा घामको प्रकाश पर्दा शरीरले यसलाई उत्पादन गर्छ । तर आजकाल धेरै व्यक्तिमा यसको कमी देखिएको छ ।”
नेपालमा खानामा फोर्टिफाइड सामग्री मिसाउने प्रचलन धेरै छैन । साथै, घामको प्रकाशले सबैलाई पर्याप्त भिटामिन डी नपुग्ने अवस्था पनि देखा पर्छ ।” उहाँले थप्नुभयो, “भिटामिन डीको लागि विशेषगरी बिहान १०–११ बजेदेखि दिउँसो ३ बजेसम्मको घाम महत्वपूर्ण हुन्छ । उक्त समयमा १०–३० मिनेटसम्म छालामा घाम लाग्दा भिटामिन डी शरीरमा उत्पादन हुन्छ । ” उहाँले घाम ताप्दा सनस्क्रिन नलगाउने र छाला ढाक्ने कपडा नलगाउने सुझाव दिनुभयो । उहाँले जाडो महिनामा घामको प्रकाश पर्याप्त नपुग्ने हुँदा यसको पूर्ति खानाबाट वा सप्लिमेन्टबाट गर्नुपर्ने बताउनुभयो ।
उहाँका अनुसार भिटामिन डीले क्याल्सियमको सन्तुलन कायम राख्न, हड्डी, मांसपेशी, छाला र रोग प्रतिरोधात्मक प्रणालीको स्वास्थ्य सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ । पर्याप्त भिटामिन डीले क्यान्सर र सङ्क्रमणको जोखिम पनि कम गर्छ । यसको कमीले शरीर दुख्ने, मांसपेशी कमजोर हुने, हड्डी भाँचिने, थकान, बच्चामा उचाइ कम हुनु, खुट्टा बाङ्गो हुनु जस्ता लक्षण देखापर्ने डा सापकोटाले बताउनुयभो ।























