फेब्रुअरी १, २०२६ देखि यूएईमा सबै डिजिटल विज्ञापनकर्ताले अनुमति लिनुपर्ने


प्रवास दुवई, यूएई— संयुक्त अरब इमिरेट्स (यूएई) मिडिया काउन्सिलले डिजिटल प्लेटफर्ममार्फत विज्ञापन गर्ने सबै व्यक्तिले अब अनिवार्य रूपमा वैध एड्भर्टाइजर परमिट (Advertiser Permit) लिनुपर्ने व्यवस्था लागू गरेको छ। यो नियम फेब्रुअरी १, २०२६ देखि लागू हुनेछ।
नयाँ नियमअनुसार सामाजिक सञ्जाल, व्यक्तिगत ब्लग तथा वेबसाइटमार्फत गरिने सबै प्रकारका विज्ञापन गतिविधि यस दायराभित्र पर्नेछन्। भुक्तानीसहित गरिने विज्ञापन मात्र नभई ब्रान्ड सहकार्य, प्रायोजित सामग्री, साथै ‘गिफ्टेड’ सामग्री वा बिना पारिश्रमिक गरिने प्रचार गतिविधि पनि यसमा समावेश गरिएको छ।
यूएई मिडिया काउन्सिलका अनुसार डिजिटल विज्ञापन क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र उपभोक्ता संरक्षणलाई सुदृढ बनाउने उद्देश्यले उक्त व्यवस्था लागू गरिएको हो। एउटै मापदण्ड लागू गरेर डिजिटल माध्यममा संलग्न सबै व्यक्ति र सामग्री सिर्जनाकर्तालाई नियमन गर्ने लक्ष्य लिइएको परिषद्ले जनाएको छ।
नियम यूएईमा बसोबास गर्ने वा यूएईभित्रबाट डिजिटल प्लेटफर्ममार्फत विज्ञापन गतिविधि सञ्चालन गर्ने सबै व्यक्ति र सामग्री सिर्जनाकर्तामा लागू हुनेछ। आवश्यक अनुमति नलिई विज्ञापन गतिविधि सञ्चालन गरेमा कानुनी कारबाही हुन सक्ने चेतावनी पनि दिइएको छ।
नयाँ व्यवस्थाले यूएईमा सक्रिय सामाजिक सञ्जाल प्रयोगकर्ता, इन्फ्लुएन्सर, ब्लगर तथा डिजिटल सामग्री सिर्जनाकर्तालाई प्रत्यक्ष रूपमा असर गर्ने अपेक्षा गरिएको छ।























