दुबई यूएई, देश, बिश्व, मानवअधिकार, विश्व

यूएईको क्षमादानले २६७ नेपाली परिवारमा खुशी, नेपाल सरकारले व्यक्त गर्‍यो धन्यवाद

कबिराज राजबंशी
२०८२ माघ १९ | बिहान १२:१० बजे

02 05092024 khalifa

प्रवास दुवई— संयुक्त अरब इमिरेट्स (यूएई) को ५४औँ राष्ट्रिय दिवस (ईद अल इत्तिहाद) को अवसरमा यूएई सरकारले २६७ जना नेपाली कैदीहरूलाई क्षमादान दिएको छ। यस निर्णयप्रति नेपाल सरकारले यूएई सरकारलाई हार्दिक कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यूएई सरकारको यस कदमलाई मानवीय भावना, मित्रता र सद्भावनाको प्रतिविम्बका रूपमा लिइएको उल्लेख छ। नेपाल सरकारले यस क्षमादानलाई नेपाल–यूएईबीच विद्यमान मैत्रीपूर्ण र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने सकारात्मक संकेतका रूपमा मूल्याङ्कन गरेको छ।

विज्ञप्तिअनुसार परराष्ट्र मन्त्रालयको निर्देशनमा अबु धाबीस्थित नेपाली दूतावासले यूएई सरकारसमक्ष पटक–पटक गरेको अनुरोध र कूटनीतिक पहलको परिणामस्वरूप उक्त क्षमादानको निर्णय लिइएको हो। दूतावासले यूएईका सम्बन्धित निकायहरूसँग समन्वय गर्दै नेपाली कैदीहरूको अवस्थाबारे निरन्तर चासो र पहल गर्दै आएको थियो।

 

क्षमादान प्राप्त गरेका नेपाली नागरिकहरूविरुद्ध अन्य कुनै कानुनी मुद्दा, सजाय वा यात्रा प्रतिबन्ध बाँकी नभएमा, यूएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि उनीहरू स्वदेश फर्कन सक्नेछन्। यस प्रक्रियाका लागि सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

 

नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकहरूको अधिकार, सुरक्षा र हितलाई उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै यूएई सरकारले देखाएको सहयोग र मानवीय दृष्टिकोणका लागि पुनः धन्यवाद व्यक्त गरेको छ। साथै, भविष्यमा पनि नेपाल र यूएईबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरिएको छ। यस क्षमादानको निर्णयले यूएईमा रहेका नेपाली समुदाय तथा सम्बन्धित परिवारहरूमा राहत र आशा थपिएको छ।

कमेन्टहरु