देश

कोरोना महामारीको बेला पनि सेवाग्राहीलाई भीडमा राखेर राहदानी वितरण गर्दै सरकार

जगत ठाडा मगर
२०७८ साउन २६ | मध्यान्ह ०१:०४ बजे

काठमाडौं । सरकारले कोरोना महामारीको बेला पनि भीडभाड गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्दै आएको छ ।

photo 2021 08 10 13 14 54

मंगलबार बिहानैदेखि काठमाडौंको कान्तिपथस्थित राहदानी विभागमा पुगेका सेवाग्राहीहरुले कोरोनाको समयमा भौतिक दुरी कायम गर्न अपिल गर्दै आएको सरकारले आवश्यक व्यवस्था नमिलाएका कारण भीडमा बसेर राहदानी लिन बाध्य हुनु परेको प्रतिक्रिया दिए ।

छोरीको राहदानी लिन रुपन्देही देवदहबाट काठमाडौं आएका दिलबहादुर गुरुङले सरकारले आफैंले आवश्यक व्यवस्था नमिलाएका कारण कोरोना कालमा पनि भीडमा बसेर राहदानी लिनुपर्ने बाध्यात्मक अवस्था रहेको बताए ।

photo 2021 08 10 13 14 56

उनले सरकार आफैले भौतिक दुरी कायम गरी काम गर्न नियम बनाउने सरकारले नै सेवाग्राहीलाई समेत भीडमा बसेर राहदानी लिने अवस्था बनाएको भन्दै सरकारको चर्को आलोचना गरे । गुरुङले प्रदेश र स्थानीय तहबाटै राहदानी लिने आवश्यक व्यवस्था मिलाउन पनि सरकारसँग अनुरोध गरे ।

उता, धनुषाबाट आएका धिरेन्द्रकुमार साहले दस्तुर तिरेर पनि समयमै राहदानी पाउने अवस्था नरहेको गुनासो पोखे । उनले कोरोनाको कहरमा पनि राहदानी लिनका लागि सामाजिक दुरी कायम गर्ने व्यवस्था सरकारले गर्न नसकेको, विभागमा सोधपुछ गर्ने ठाउँसमेत नभएकाले आफूहरु अलमलमा परेको बताए ।

photo 2021 08 10 13 14 59

राहदानी नवीकरणका लागि बिहानै पुगेका भक्तपुर दुवाकोटका तेजबहादुर कार्कीले पनि भीडमा बसेको राहदानी लिनुपर्ने बाध्यात्मक अवस्था रहेको बताए ।सरकारले भौतिक दुरीको कुरा गरेपनि सेवा लिने बेलामा भिडको व्यवस्थापन गर्न नसकेकोमा सेवाग्राहीको चर्को गुनासो छ ।

कमेन्टहरु