दुबई यूएई, प्रबास

पाल्पाली समाज युएईको आधिकारिक वेबसाइट शुभारम्भ, डिजिटल रूपान्तरणको नयाँ अध्याय

कबिराज राजबंशी
२०८२ माघ १५ | मध्यान्ह ०५:१० बजे

FB IMG 1769687620174 दुवई- पाल्पाली समाज युएईले २५ जनवरी २०२६ का दिन आफ्नो आधिकारिक वेबसाइट औपचारिक रूपमा लन्च गर्दै डिजिटल रूपान्तरणको महत्वपूर्ण चरण पूरा गरेको छ।

सन् २०१४ (वि.सं. २०७१) मा स्थापना भएको पाल्पाली समाज युएई युएईमा रहेका पाल्पालीहरूलाई एकताबद्ध गर्दै मानविय सेवा, शिक्षा, आपतकालीन सहयोग तथा विविध सामाजिक गतिविधिहरूमा सक्रिय रहँदै आएको अग्रणी सामाजिक संस्था हो। स्थापना कालदेखि नै “सेवा, सहकार्य र सद्भाव” लाई मूल आधार मानेर अघि बढ्दै आएको समाजले समयको आवश्यकता अनुसार आफूलाई परिमार्जन गर्दै डिजिटल युगतर्फ कदम चालेको हो।

 

FB IMG 1769687624909

समाजले सार्वजनिक गरेको वेबसाइटमार्फत संस्थाका गतिविधि, योजना, प्रतिवेदन, सदस्यता प्रक्रिया तथा भावी कार्यक्रमसम्बन्धी जानकारी सबैका लागि सहज, पारदर्शी र पहुँचयोग्य बनाउने लक्ष्य लिइएको छ। वेबसाइटलाई सूचना आदान–प्रदानको माध्यम मात्र नभई पाल्पाली समाज युएईको पहिचान, विश्वास र प्रतिबद्धताको प्रतिबिम्बका रूपमा विकास गरिने समाजको भनाइ छ।

“पाल्पाली समाज नाम मात्र होइन, एउटा ब्राण्ड हो” भन्ने अवधारणालाई व्यवहारमा उतार्दै समाजलाई अझ सशक्त, पारदर्शी र उत्तरदायी बनाउने दिशामा निरन्तर अग्रसर रहने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। यस यात्रामा संरक्षक वर्ग, सल्लाहकार, कार्यसमिति, सदस्य तथा शुभेच्छुकहरूको साथ, सहयोग र सुझावलाई समाजको मुख्य शक्ति मानिएको छ।

वेबसाइट लन्च कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली महावाणिज्यदूतावास, दुबईका वाणिज्यदूत श्री कुञ्जन साह उपस्थित थिए। कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष श्री राम मोक्तान, बिजनेस काउन्सिलका कोषाध्यक्ष तथा नमस्ते ट्राभल्स एण्ड टुरिजमका सञ्चालक श्री एकेन्द्र थापा, पाल्पाली समाज युएईका संरक्षक तथा सल्लाहकार वर्ग, पत्रकार, जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

FB IMG 1769687622674

कार्यक्रमलाई अझ आकर्षक बनाउन कलाकार श्रीमती निरुता गैरेले सांगीतिक प्रस्तुति दिएकी थिइन्। पाल्पाली समाज युएईले कार्यक्रम सफल बनाउन उपस्थित सबै अतिथि महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।

कमेन्टहरु