चितवनको गहुँमा नयाँ रोग


चितवन, माघ १५। जिल्लामा लगाइएको गहुँमा नयाँ रोग देखिएको छ । जरामा लाही (कीरा) र पातमा ढुसी लागे जस्तो समस्या अहिले यहाँ लगाइएको गहुँमा देखिएको छ । भरतपुर महानगरपालिकाका किसानले लगाएको गहुँमा यो समस्या देखिएको हो ।
कृषि विकास कार्यालयका अनुसार तराई क्षेत्रमा देखिँदै आएको यस रोगको सङ्क्रमण अहिले चितवनमा पनि देखिएको हो । कार्यालयकी सूचना अधिकारी विन्दु पौडेलका अनुसार अहिले किसानले गहुँको पात पहेँलो भएको र जरामा कीराले खाएको जस्तो समस्या लिएर आएका छन् ।
विषयगत रुपमा अध्ययनको काम नगरी यही रोग भनेर भन्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । परीक्षणका लागि नमूना सङ्कलन गर्ने काम भइरहेको उहाँले बताउनुभयो । जिल्लामा चार हजार ७११ हेक्टर क्षेत्रफलमा गहुँखेती हुँदै आएको छ ।
गत वर्ष सो क्षेत्रफलमा १५ हजार ५७७ मेट्रिकटन गहुँ उत्पादन भएको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसवर्ष गहुँ लगाउने ठाउँमा राज्माखेती पनि गरिएको पाइएकाले केही क्षेत्रफल घट्ने अनुमान गरिएको पौडेलले जानकारी दिनुभयो ।























