होलोकास्ट स्मृति दिवसः साठी लाख यहुदीप्रति श्रद्धाञ्जली


काठमाडौँ, माघ १४। यहाँस्थित इजरायली दूतावासद्वारा मङ्गलबार अन्तरराष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा एक कार्यक्रम आयोजना गरियो ।संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष जनवरी २७ मा होलोकास्ट पीडितहरूको सम्झनामा यो दिवस मनाउने गरिन्छ । द्वितीय विश्वयुद्धका क्रममा नाजी शासनद्वारा ६० लाख यहुदीको संहार गरिएको स्मरणमा सन् २००६ देखि उक्त विश्व संस्थाको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो ।
नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले होलोकास्ट मानव सभ्यतामाथिको कालो दाग भएको उल्लेख गर्दै जातीय घृणा, विभेद र सम्पूर्ण समुदायलाई नष्ट गर्ने सोचको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले यस्ता घटनाहरू दोहोरिन नदिन स्मरण र शिक्षा अत्यावश्यक भएको बताउनुभयो ।
त्यस अवसरमा जर्मनी र अष्ट्रेलियाका कूटनीतिक प्रतिनिधिहरूको सहभागिता रहेको थियो । साथै होलोकास्टकी जीवित साक्षी सोफिया गेलरको सन्देश प्रस्तुत गरिएको थियो ।























