पाल्पा तिनाउ खोलामा जिप खस्दा चार घाइते

जगत ठाडा मगर
२०७८ साउन २६ | मध्यान्ह १२:०४ बजे

सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३ सिद्धबाबा नजिकै भीरबाट तिनाउखोलामा जिप खस्दा चारजना घाइते भएका छन् ।
पाल्पातर्फबाट बुटवल हिँडेको जीप अप्ठेरो स्थानमा खसेको छ । टेलिफोन सम्पर्क नभएकाले घाइतेको परिचय खुलिनसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।
उनका अनुसार दुर्घटनामा परेकाहरु दुई जना गम्भीर घाइते र दुई जना सामान्य छन् । तीन जनालाई रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ । एक जनालाई उद्धार गरी पठाउने तयारी गरिएको डीएसपी त्वातीले जानकारी दिए ।
दोभान प्रहरी चौकीदेखि एक किलोमिटर टाढा हेड बक्स नजिकै घुम्तीबाट जीप खोलामा खसेको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिए । उनका अनुसार १० बजेतिर दुर्घटना भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






















