निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको ध्यानाकर्षण


काठमाडौँ, माघ १३। राष्ट्रियसभा सदस्यहरुले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपीबहादुर सार्की अछामीले लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनबाहेक कुनै विकल्प नरहेको उल्लेख गर्दै निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । “जेनजी आन्दोलनका क्रममा प्रहरीका हतियार लुटिएका छन्, बन्दीहरु बाहिरै छन्, नयाँ र पुराना राजनीतिक दलबाट तिक्ततापूर्ण अभिव्यक्ति आइरहेका छन्,” उहाँले भन्नुभयो, “निर्वाचन शान्तिपूर्ण ढङ्गबाट अगाडि बढोस्, लोकतन्त्र, संविधान र परिवर्तनका उपलब्धिहरुलाई संस्थागत गर्दै जनभावनाअनुसारको अघि बढ्ने परिस्थिति होस् ।”
नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले निर्वाचनमार्फत मुलुकलाई संवैधानिक ‘ट्र्याक’मा ल्याउनुपर्नेमा जोड दिनुभयो । “पुराना दलहरुलाई यो निर्वाचनबाट ‘नामेट’ बनाउनुपर्छ भन्ने भाष्य सिर्जना गरेर केही नयाँ भनिएका राजनीतिक दल लागिरहेका छन्, यो मुलुकमा प्रजातन्त्र, लोकतान्त्रिक अधिकार र संविधान कसले ल्यायो ?”, उहाँले भन्नुभयो, “दलका केही पात्र खराब हुन सक्छन्, तर राजनीतिक दललाई दोषको भागी बनाएर जनतामा भ्रमित गर्ने कोसिस भइरहेको छ, त्यसप्रति सम्पूर्ण नागरिक सचेत हुनुपर्छ ।”
कांग्रेस सांसद नारायणदत्त मिश्रले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउँदै दल तथा उम्मेदवारलाई मत माग्न र मतदातालाई ढुक्क भएर मतदान गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मिश्रले जेनजी आन्दोलनले सकारात्मक र नकारात्मक पाटोप्रति सदैव सचेत हुनुपर्ने बताउनुभयो ।
“यो आन्दोलनले सबै एक हौँ भन्ने भावना विस्तार र युवालाई एकजुट गरायो, तर कसैलाई शासनबाट लेखट्न वैचारिक र वैधानिक बाटोको सट्टा तोडफोड र आगजानी गर्ने खराब बाटोबाट देशका युवाहरु उद्यत हुन्छन् भन्ने चिन्ताले सताएको छ”, उहाँले भन्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोपाल भट्टराईले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी र प्रहरीबाट लुटिएका हतियार निर्वाचन सुरक्षामा चुनौती बन्न सक्ने उल्लेख गर्दै सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । मुलुकलाई असफल राष्ट्र बनाउने चलखेल भइरहेको जनाउँदै उहाँले यसप्रति संसद् चनाखो बन्नुपर्ने बताउनुभयो ।























