देश

धनगढीमा सत्तारुढ काँग्रेसबाटै सरकारी निर्देशनको अवज्ञा, जनतामाथि आदेशै–आदेश

जगत ठाडा मगर
२०७८ साउन २६ | मध्यान्ह १२:०४ बजे

धनगढी । २३ साउनमा शुभारम्भ भएको मास्क अभियानका लागि गरेको भिडियोमा सम्बोधनमा प्रधानमन्त्री शेरबहादुर देउवाले अतिआवश्यक परे मात्रै घरबाहिर निस्कन नागरिकहरुलाई आग्रह गरे। उनले सम्पूर्ण राजनीतिक दल र निजी क्षेत्रलाई भिडभाड हुने भेला आयोजना नगर्न समेत आग्रह गरे।

photo 2021 08 10 12 50 07

प्रधानमन्त्री देउवाले नेपालमा पनि कोभिड–१९ महामारीको तेस्रो लहर सुरु हुने लक्षण देखिएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सुरक्षित रहन आग्रह गरेका थिए। कोभिडको संक्रमण फेरि बढ्न थालेको भन्दै कक्षा १२ को परीक्षा पनि स्थगित गरिएको छ। यता धनगढीमा भने देउवा सभापति रहेको पार्टी नेपाली काँग्रेसले सरकारी निर्देशनविपरित धमाधम भेला आयोजन गरेको छ। काँग्रेसको धनगढी उपमहानगरपालिका कार्य समितिले वडावडामा बैठक र छलफल आयोजना गरेको हो। साउन २२ गते १५ र १६, २३ गते १८ र १९, २४ गते २ र ४, २५ गते ७ र १७ मा बैठक आयोजना भएकोमा आज वडा नम्बर ६ र ११ मा बैठक भइरहेको छ।

बैठकमा जिल्ला सभापति नरनारायण शाह मनु, उपसभापति प्रकाश बम, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड, उपमेयर सुशिला मिश्र भट्ट लगायतको सहभागिता हुँदै आएको छ। ‘पार्टीको आसन्न महाधिवेशनलाई लक्षित गर्दै काँग्रेसले वडावडामा भेला गरिरहेको छ, तर महाधिवेशन हुने–नहुने टुंगो छैन,’ काँग्रेसकै एक नेताले भने, ‘सत्ताको नेतृत्व गरिरहेको पार्टीले यस्तो महामारीमा प्रधानमन्त्रीकै आग्रहको अवज्ञा गर्न नपर्ने हो। हामीले पटकपटक अहिलेलाई भेला नराखौँ पनि भनेका थियौँ। तर वेवास्ता भएको छ।’ यसबारे काँग्रेस कैलालीका सभापति शाहलाई पटकपटक फोन गर्दा पनि उठेन्। जिल्ला उपसभापति प्रकाश बमले कोरोना भाइरसको जोखिम भएपनि बाध्य भएर वडा भेला गरिरहेको बताए। ‘हामीले वडा भेला तत्कालको लागि रद्ध गर्ने भनेका थियौँ,’ उनले भने, ‘तर साथीहरुले अस्वीकार गरे। अहिले कम उपस्थितीमा बैठक भइरहेको छ। ४०/५० जना सहभागि भइरहेका छौँ।’

यता जिल्ला प्रशासन कार्यालय कैलालीले साउन मसान्त सम्मको लागि जिल्लामा निषेधाज्ञा यथावत राखेको छ। स्थानीय प्रशासनले बढीमा २५ जना मात्रै सहभागी हुन पाउने आदेशमा उल्लेख गरेको छ। तर स्थानीय प्रशासनबाट नियमन हुन सकेको छैन। जिल्ला प्रशासनले जारी गरेको आदेशको अवज्ञा गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने दाबी गर्दै आएको छ।

कमेन्टहरु