पत्रकारिताबाट राजनीतिमा चिन्ता परियार, कपिलवस्तु–३ मा प्रतिस्पर्धा रोचक


कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ मा आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा स्वतन्त्र उम्मेदवार चिन्ता परियारको नाम चर्चामा आएको छ । कुनै राजनीतिक दलसँग आबद्ध नरही चुनावी मैदानमा उत्रिएका परियारले छोटो समयमै मतदाताको ध्यान तानेका छन् ।
पेसाले पत्रकार रहेका परियार लामो समयदेखि सुशासन, सामाजिक न्याय र जनसरोकारका विषयमा कलम चलाउँदै आएका छन् । पत्रकारितामार्फत सत्ताका कमजोरी र विकृतिमाथि निरन्तर प्रश्न उठाउँदै आएका उनी अहिले प्रत्यक्ष राजनीतिमा आएर जनताको प्रतिनिधित्व गर्ने लक्ष्यसहित उम्मेदवार बनेका हुन् ।
गरिबी, विभेद र संघर्षपूर्ण परिवेशमा हुर्किएका परियारले दलित तथा सीमान्तकृत समुदायको जीवनलाई नजिकबाट भोगेको बताइन्छ । यही अनुभवका कारण उनले आफ्नो चुनावी एजेन्डामा सामाजिक न्याय, जवाफदेहिता र जनप्रतिनिधिको उत्तरदायित्वलाई प्राथमिकता दिएको बताएका छन् ।
उनको चुनावी अभियान भाषणभन्दा पनि प्रत्यक्ष संवादमा केन्द्रित देखिन्छ । घरदैलो कार्यक्रममार्फत मतदातासँग भेटघाट गर्दै स्थानीय समस्या बुझ्ने प्रयासमा रहेको स्थानीयहरूले बताएका छन् । एक स्थानीय मतदाताका अनुसार, उहाँले हाम्रो अवस्था नजिकबाट देख्नुभएको छ, त्यसैले समस्या पनि बुझ्नुहुन्छ ।
परम्परागत दलका उम्मेदवार र दोहोरिएका प्रतिबद्धताबीच चिन्ता परियारलाई नयाँ विकल्पका रूपमा हेर्ने मतदाताको संख्या बढ्दै गएको देखिन्छ । कपिलवस्तु–३ मा स्वतन्त्र उम्मेदवारका रूपमा उनको उपस्थितिले चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ ।























