प्रबास

म्यानमारमा आम निर्वाचन : अन्तिम चरणको मतदान जारी

एजेन्सी
२०८२ माघ ११ | मध्यान्ह ०१:१० बजे

याङ्गुन । म्यानमारमा आम निर्वाचनको तेस्रो तथा अन्तिम चरणको मतदान आइतबार भइरहेको छ । राजधानी याङ्गुन र मन्डलेसहित ६० टाउनशिपमा बिहान ६ बजेबाट मतदान सुरु भएको थियो । 

देशमा जारी गृहयुद्ध, राजनीतिक दमन र विपक्षी दलहरूको बहिस्कारबिच गरिएको यो निर्वाचनलाई आलोचकहरूले स्वतन्त्र र निष्पक्ष नभएको भन्दै सैन्य शासनलाई वैधता दिने षडयन्त्र भनिरहेका छन् । सन २०२१ मा निर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता कब्जा गरेका म्यानमारका सेना प्रमुखहरूले त्यसयता देशलाई नियन्त्रणमा राख्दै आएका छन् ।

उक्त ‘कु’ पछिको गृहयुद्धमा देशमा हजारौँको ज्यान गएको छ । ३५ लाखभन्दा बढी नागरिक विस्थापित भएका छन् । पूर्व नेतृ आङ सान सुकी अझै हिरासतमा छिन् । उनको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) सहित थुप्रै विपक्षी दलहरू विघटन गरिएकाले राजनीतिक मैदान पूर्ण रूपमा सैन्य समर्थित दलको पक्षमा झुकेको छ । निर्वाचन आयोगका अनुसार सैन्य समर्थित युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी (यूएसडीपी)ले तल्लो सदनका २०९ मध्ये १९३ र माथिल्लो सदनका ७८ मध्ये ५२ सिट जितिसकेको छ ।

सेनालाई संविधानअनुसार आरक्षित १६६ सिटसमेत जोड्दा उनीहरूले सरकार गठनका लागि आवश्यक २९४ सिटभन्दा धेरै सिट सुरक्षित गरिसकेको छ । बाँकी १७ दलले एकदेखि १० सिटसम्म मात्रै जितेका छन् । हालका सैन्य शासक तथा कार्यवाहक राष्ट्रपति वरिष्ठ जनरल मिन आङ ह्लाइङ नयाँ संसद् गठनपछि राष्ट्रपतिको भूमिकामा जाने अपेक्षा गरिएको छ । म्यानमारको संसद् मार्चमा बोलाइने र नयाँ सरकारले अप्रिलबाट काम सुरु गर्ने सैन्य प्रशासनले जनाएको छ ।

कमेन्टहरु