कभर्डहल सञ्चालनको जिम्मा खेलकुद विकास समितिलाई


दमौली (तनहुँ), माघ ११। यहाँको व्यास नगरपालिका–३ बिपी वनवाटिकास्थित कभर्डहल खेलकुद विकास समिति तनहुँमार्फत सञ्चालन गरिने भएको छ । व्यास नगरपालिकाको लगानीमा निर्माण भएको कभर्डहल खेलकुद विकास समितिलाई हस्तान्तरण गर्न लागिएको हो ।
जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको उक्त कभर्डहलको जग्गा व्यास नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । कभर्डहल निर्माणका लागि आर्थिक वर्ष २०७७|७८ मा नगरपालिकाले रु ३२ लाख ८४ हजार २९३, आव २०७८|७९ मा रु ३१ लाख २५ हजार ९३१, आव २०८०|८१ मा रु १४ लाख २५ हजार र चालु आवमा रु नौ लाख ५० हजार सहयोग गरेको थियो ।
तनहुँमा निर्वाचन प्रहरीका लागि पुनः दरखास्त माग
जिल्ला प्रहरी कार्यालयले निर्वाचन प्रहरीका लागि जनशक्ति अभाव भएको जनाउँदै पुनः दरखास्त आह्वान गरेको छ । निर्वाचन प्रहरीका लागि एक हजार पाँच सय ७३ जनाको निवेदन माग गरिएकामा तनहुँमा एक हजार ४३३ जनाको निवेदन परेको थियो ।
कार्यालयले शारीरिक तन्दुरुस्ती र स्वास्थ्य जाँचपश्चात् एक हजार २३६ जना उत्तीर्ण गरी लिखित परीक्षा सञ्चालन गरेकामा एक हजार २१६ जना उत्तीर्ण भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।
कार्यालयले सूचना जारी गरी निर्वाचन प्रहरीको थप दरखास्त माग गरेको छ । कार्यालयले यसअघि पुस २५ गतेदेखि माघ ३ गतेसम्म दरखास्त लिएकामा पुनः माघ १० र ११ गते दुई दिन निवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।
प्रनाउ विकका अनुसार जिल्ला प्रहरी कार्यालय दमौली, इलाका प्रहरी कार्यालय आँबुखैरेनी, इलाका प्रहरी कार्यालय बेलचौतारा, इलाका प्रहरी कार्यालय भानु र इलाका प्रहरी कार्यालय बन्दीपुरमा निवेदन दिन सकिनेछ । पुनः आवेदन माग गरिएकामा शनिबार एक सय ९२ जनाले आवेदन दिएका छन् । त्यसमध्ये ६७ जना महिला र एक सय २५ जना पुरुष छन् ।























