काभ्रेको नमोबुद्धका ज्येष्ठ नागरिकलाई घरघरमै खोप


काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर कोरोनाविरुद्धको खोप लगाइरहेको छ ।
नमोबुद्ध- ८ का १०२ वर्षीय अमन्तीनाथ हुमागाईँले आफ्नै निवासमा सोमबार कोभिशिल्डको दोस्रो मात्रा खोप लगाए । ‘आज म खुसी छु । नगरपालिकालाई धन्यवाद दिन चाहन्छु,’ खोप लगाएपछि उनले भनिन् ।
नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले घरमै पुगेर उनलाई खोप लगाइदिएको थियो । सोही अवसरमा नगरप्रमुख टङ्कप्रसाद तिमल्सिनाले उनलाई खोप कार्ड प्रदान गरे । ६५ वर्षदेखि १०२ वर्षसम्मका नागरिकलाई घरमै पुगे खोप लगाउने व्यवस्था मिलाएको तिमल्सिनाले बताए ।
नगरप्रमुख तिमल्सिना स्वास्थ्यकर्मी लिएर ज्येष्ठ नागरिकको घरघरमा पुगेर खोप लगाउने अभियानमा छन् । नगरपालिकाले गत फागुन २३ देखि २९ गतेसम्म पनि पहिलो चरणको खोप लगाएको थियो ।
नगरपालिकामा ६५ वर्षमाथि १७०७ नागरिक रहेका बताइएको छ । नगरका ११ वटै वडामा खोप केन्द्र तोकिएको छ । ‘कोही नागरिक खोपबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित अभियान चलाइरहेका छौँ,’ तिमल्सिनाले भने । नगरपालिकाले ज्येष्ठ नागरिकलाई खोपसँगै मास्क, स्यानिटाइजर र च्यावनप्रासलगायतका स्वास्थ्य सामग्रीसमेत वितरण गरेको छ ।
आइसोलेसनमा बिरामीको चाप
पछिल्लो समय कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेसँगै नमोबुद्ध–४ मा स्थापना गरिएको आइसोलेसन केन्द्रमा सङ्क्रमितको चाप बढेको छ ।
पछिल्लो एक सातामा केन्द्रमा लक्षणसहितका बिरामीको चाप बढेको बताइएको छ । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको केन्द्रमा हाल १४ कोभिडका बिरामी रहेको केन्द्रका प्रमुख मथुरा सत्यालले जानकारी दिए । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार सोमबार मात्रै ७५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।






















