निर्वाचन ४० दिन बाँकीःसमानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी

रासस
२०८२ माघ १० | बिहान ११:१० बजे

काठमाडौँ, माघ १०। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ ।मतपत्र छपाइकार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको थियो । अब ५० लाख थान मतपत्र छाप्न बाँकी रहेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा तीन हजार ४०६ जना उम्मेदवारको नामावली आयोगले सार्वजनिक गरेको छ । आयोगले शुक्रबार नै निर्वाचन चिन्हसमेत प्रदान गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तीन हजार १७ पुरुष, ३८८ महिला र अन्यमा एक जना उम्मेदवार तय भएका छन् । उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्म निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले उल्लेख गरेको छ ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारको नामावली पनि प्रकाशित भइसकेको छ ।























