वैशाखदेखि हालसम्म पाँच हजार ९६६ विपद्का घटना


काठमाडौँ, माघ ९। गत वैशाखदेखि हालसम्म देशभर कुल पाँच हजार ९६६ वटा विपद्का घटना घटेका छन् । विपद्मा परेर चार सय २४ जनाको ज्यान गएको छभने एक हजार छ सय ४३ जना घाइते भएका छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर ३८ जना बेपत्ता भएका छन् भने ११ हजार ५३५ परिवार प्रभावित भएका छन् ।
प्राधिकरणका अनुसार बाढीको तीन सय १६, भारी वर्षाको चार सय २७, चट्याङको तीन सय ५२, सर्पदंशको पाँच सय ८० घटना घटेको छ । वन डढेलोको एक सय ८६, हुरीबतास दुई सय ९०, जनावर आक्रमण चार सय २२, लेक लाग्नुका एक सय पाँच घटना घटेको छ ।
हिउँ पहिरोको सङ्ख्या पाँच छ । भूकम्प सात, डुङ्गा पल्टेर दुई, असिनापानी, शीतलहर, महामारी र हवाई दुर्घटना एक–एक घटना भएका छन् । पछिल्ला दिनमा त झन् आगलागीका घटनामा बढोत्तरी भएको छ । सामान्य सावधानी अपनाउँदासमेत न्यूनीकरण गर्न सकिने आगलागीका घटना न्यूनीकरण गर्न सकिने विभागको प्रष्टोक्ति छ ।























