वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको वस्तु तथा सामान विदेशी मुलुक निर्यात

रासस
२०८२ माघ ८ | मध्यान्ह ०१:१० बजे

वीरगञ्ज (पर्सा), माघ ८। वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू ४८ अर्ब १० करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ ।गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ५२ प्रतिशत अर्थात रू १६ अर्ब ४३ करोड बढीको निर्यात भएको छ ।
चालु आवको छ महिनामा रू २५ अर्ब ४२ करोड मूल्यको भटमासको तेल प्रशोधित निर्यात भएको छ । रू तीन अर्ब ४८ करोड मूल्य पर्ने फलफूलको जुस र तीन अर्ब ५५ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ ।
त्यस्तै रू दुई अर्ब २५ करोड मूल्यको प्रशोधित पाम तेल निर्यात भएको छ । त्यस्तै रू एक अर्ब ७८ करोड मूल्य पर्ने विभिन्न किसिमका कपडा निर्यात भएको छ ।























