आज बिहान म्याग्दीको बेनी बजारमा आगलागी

जगत ठाडा मगर
२०७८ साउन २६ | बिहान ०८:०४ बजे

काठमाडौं । आज बिहान म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी भएको छ । बेनी नगरपालिका-८ न्यूरोडमा अवस्थित रघुगंगा दूध डेरी र नतिजा किराना पसलमा बिहानको तीन बजेतिर आगलागी भएको म्याग्दी प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय क्षति नभएको तर लाखौंको धनमाल जलेर नष्ट भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आगलागी भएको घर सुनचाँदी व्यवसायी जीवनबहादुर विश्वकर्माको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले दमकल प्रयोग गरी आज बिहान पाँच बजेतिर आगो नियन्त्रणमा लिएको छ ।
रघुगंगा डेरीबाट सुरु भएको आगलागी नयन स्टोर्समा पनि सल्किएको थियो । आगलागीको क्रममा ग्यास सिलिण्डर पडि्कएर ठूलो आवाज आएको थियो । आगलागीको कारण भने अझै खुलेको छैन । पसलभित्रको बिजुलीको तार सट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।






















