ग्रिनल्यान्डमाथिको अडान ट्रम्पले बनाए अझै जब्बर


वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड नियन्त्रण लिनेसम्बन्धी आफ्नो अडान झन जब्बर बनाएका छन् । सामाजिक सञ्जालमा एउटा पोष्टमा उनले ग्रिनल्यान्डबाट अब पछि हट्ने कुनै सम्भावना नभएको र ग्रिनल्यान्ड अत्यावश्यक रहेको भनेका छन् ।
यसैबिच, स्विट्जरल्यान्डको डाभोसमा भइरहेको विश्व आर्थिक मञ्चको बैठकमा फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँले ‘नियमविहीन संसारतर्फको मोड’बारे चेतावनी दिएका थिए । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भने ‘पुरानो विश्व व्यवस्था अब फर्किँदैन’ बताए । ट्रम्प बुधबार डाभोस पुग्ने कार्यक्रम थियो, तर एयर फोर्स वानमा देखिएको सानो विद्युतीय समस्याका कारण विमान फर्किनु पर्याे । ह्वाइट हाउसका अनुसार ट्रम्प अर्को विमानमार्फत डाभोस जानेछन् । यद्यपि यसमा भएको ढिलाइले तालिकामा कस्तो असर पार्छ भन्ने स्पष्ट छैन ।
ग्रिनल्यान्डबारे धेरै बैठकहरू तय भएको र सबै कुरा राम्रोसँग मिल्ने दाबी पनि ट्रम्पले गरेका छन् । नाटो गठबन्धन टुट्ने जोखिम ग्रिनल्यान्डका लागि स्वीकार्य हो कि होइन भन्ने बीबीसीको प्रश्नमा उनले ‘नाटोका लागि हरेक तवरले मैलेभन्दा धेरै कसैले गरेको छैन’ भन्दै ‘नाटो खुसी हुनेछ, आफूहरू पनि खुसी हुने बताएका थिए । यद्यपि ग्रिनल्यान्ड आफूलाई विश्व सुरक्षाका लागि चाहिएकोमा पनि उनले जोड दिए । आवश्यक परेको समयमा नाटोले अमेरिकालाई सहयोग गर्छ कि गर्दैन भन्नेमा भने उनले शंका व्यक्त गरे ।























