देश

अफगानिस्तानमा कब्जा जमाइरहेको तालिबानले युद्धविरामको अन्तर्राष्ट्रिय अपिललाई गरे अस्वीकार

जगत ठाडा मगर
२०७८ साउन २६ | बिहान ०८:०४ बजे

काठमाडौं । अफगानिस्तानमा बिग्रँदो अवस्थाबीच युद्धविरामको अन्तर्राष्ट्रिय अपिललाई तालिबानले अस्वीकार गरेको छ ।

तालिबानले पछिल्लो समय अफगानिस्तानका एकपछि अर्को मुख्य सहरहरूमा कब्जा जमाइरहेको छ । मिडिया रिपोर्टका अनुसार हालसम्म अफगानिस्तानका ६ वटा प्रान्तीय राजधानीमा कब्जा जमाउन सफल भइसकेको छ । यसमध्ये कुन्दुज निकै महत्त्वपूर्ण रहेको छ ।

यसबीच अमेरिकी र अफगान विमानले विद्रोहीमाथि कयौँ हवाई हमला गरेका छन् । अफगान अधिकारीहरूका अनुसार यस हमलामा दर्जनौँ तालिबान लडाकु मारिएका छन् । उता, तालिबानका एक प्रवक्ताले आइतबार अलजजिरा टिभीसँग कुराकानी गर्दै अमेरिकालाई थप कारबाही नगर्न चेतावनी दिएका थिए ।

आइतबार उत्तरी अफगानिस्तानका तीन सहरमा मात्र केही घण्टाको अन्तरमा तालिबानले कब्जा जमाएको थियो । कुन्दुजका एक स्थानीयका अनुसार त्यहाँको स्थिति ‘पुरै अराजक’ भएको बताए । सामाजिक सञ्जालमा सेयर गरिएको भिडियोमा तालिबान लडाकु कुन्दुज र सर–ए–पुलको सरकारी भवनमा प्रवेश गरेको देख्न सकिन्छ ।

यद्यपि, ती भिडियोको स्वतन्त्ररुपमा पुष्टि भएको छैन ।यसबीच अफगान सरकारका अनुसार विशेष सुरक्षा बल अझै पनि कुन्दुजमा तालिबानसँग लडिरहेका छन् । तालिबानका एक प्रवक्ताले बीबीसीसँग कुरा गर्दै अब उनीहरूले बगलान प्रान्तको राजधानी पुल–ए–खुमरीलाई निशाना बनाउने तयारी गरेको जानकारी दिएका छन् ।

पश्चिमको हेरात प्रान्तमा पनि भीषण लडाइँ जारी रहेको छ । सोमबार बिहान दक्षिणी सहर लश्करगाहको प्रहरी मुख्यालयको बाहिर ठूलो विस्फोटको आवाज सुनिएको थियो । लश्करगाहका स्थानीयका अनुसार पछिल्लो २ दिनमा कम्तीमा २० जना मारिएका छन् । त्यहाँ स्कूल र अस्पताल पनि ध्वस्त बनेका छन् ।

अमेरिकाले अफगानिस्तानबाट आफ्नो सैनिक फिर्ता बोलाउने घोषणा गरेसँगै तालिबानको आक्रामकता बढी रहेको छ । तालिबानले पछिल्लो केही हप्तामा तीव्र गतिमा अफगानिस्तानमा कब्जा जमाइरहेको छ। ग्रामीण क्षेत्रलाई नियन्त्रणमा लिएको तालिबानले यति बेला मुख्य सहरहरूलाई निशाना बनाइरहेको छ । -रासस

कमेन्टहरु