निर्वाचन

आजपा अध्यक्ष प्रभु साहका स्वकीय सचिव विजय यादव ‘निर्विज’ बारा–१ बाट चुनावी मैदानमा

नवलपुर टुडे
२०८२ माघ ७ | बिहान ११:१० बजे

बारा, माघ ६ गते। आम जनता पार्टी (आजपा) का केन्द्रीय अध्यक्ष प्रभु साहका स्वकीय सचिव विजय यादव ‘निर्विज’ले बारा निर्वाचन क्षेत्र नं. १ बाट औपचारिक रूपमा आफ्नो मनोनयन दर्ता गराएका छन्। निर्वाचन कार्यालय कोल्हवीमा पुगेर उनले आज उम्मेदवारी दर्ता गराएका हुन्।

विगत ६ वर्षभन्दा बढी समयदेखि पार्टी संगठन सुदृढीकरण, जनसरोकारका विषय तथा राजनीतिक व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका यादवलाई आम जनता पार्टीले बारा–१ मा परिवर्तनको दृढ संकल्पसहित उम्मेदवारका रूपमा अघि सारेको जनाएको छ। पार्टीका अनुसार यादव जनताको दुःख–सुखमा सधैं साथ दिने, भ्रष्टाचारविरुद्ध अडिग रहने तथा विकास र सुशासनको पक्षमा स्पष्ट र निर्भीक आवाज उठाउने नेताको रूपमा परिचित छन्।

मनोनयन दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै विजय यादवले बारा–१ सिम्रौनगढ एउटा एतिहासीक स्थल भएको ठाउँमा नयाँ मोडेल विकास सहित विद्यमान विकासका समस्या, बढ्दो बेरोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेको असमानतालाई अन्त्य गर्नु आफ्नो प्रमुख एजेन्डा रहेको बताए। उनले भने, “जनताको विश्वास र सक्रिय साथले बारा–१ मा नयाँ राजनीतिक संस्कार स्थापित गर्दै वास्तविक परिवर्तनको सुरुवात हुनेछ।”

मनोनयन दर्ता कार्यक्रममा आम जनता पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। आम जनता पार्टीले बारा–१ मा जनआधारित राजनीति, पारदर्शिता र सुशासन स्थापनाका लागि विजय यादवको उम्मेदवारी महत्वपूर्ण हुने जनाएको छ।

कमेन्टहरु