समाज

निर्वाचनका निम्ति शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध छ: गृहमन्त्री

रासस
२०८२ माघ ६ | मध्यान्ह ०४:१० बजे

काठमाडौँ, माघ ६। सरकारले निर्वाचनका निम्ति शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको पुनः दोहोर्याएको छ ।सुरक्षा मामिलाका पत्रकारसँग गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालले प्रदेशगत रुपमा सुरक्षा गोष्ठी गरेर एकीकृत सुरक्षा योजना कार्यान्वयन भएको जानकारी दिनुभयो । उहाँले भयरहित वातावरणमा निर्वाचन गराउन शान्तिसुरक्षाको सुदृढ व्यवस्था गरिने बताउनुभयो ।

विगतको तुलनामा हाल शान्तिसुरक्षाको स्थिति सुदृढ हुँदै गएको बताउँदै गृहमन्त्रीले शान्तिपूर्ण रुपमा निर्वाचन सफल पार्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको उल्लेख गर्नुभयो । उहाँले उच्च मनोबलका साथ सुरक्षा निकाय कार्यक्षेत्रमा परिचालन भएका बताउनुभयो ।

सूचना प्रविधिको दुरुपयोग नियन्त्रण गर्न गृह प्रशासनको नेतृत्वमा टेलिकम, साइबर ब्यूरो र सरोकार भएका निकायको सहभागितामा आवश्यकता व्यवस्था गरिएको जानकारी उहाँले दिनुभयो ।

गृह सचिव राजकुमार श्रेष्ठले एकीकृत सुरक्षा योजना पूर्ण कायान्वयनका साथ निर्वाचनका निम्ति शान्तिसुरक्षा प्रभावकारी बनाइएको बताउनुभयो ।

कमेन्टहरु