बारा १ मा परिवर्तनको दृढ संकल्प : विजय यादव ‘निर्विज’द्वारा उम्मेदवारी घोषणा


माघ ६ गते। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बाट बारा निर्वाचन क्षेत्र नं. १ मा आम जनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहका स्वकीय सचिव विजय यादव ‘निर्विज’ले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। विगत छ वर्षभन्दा बढी समयदेखि पार्टी संगठन सुदृढीकरण तथा जनसेवामा सक्रिय रहँदै आउनुभएका यादव अनुभव, इमान्दारिता र जनउत्तरदायी सोचसहित चुनावी मैदानमा उत्रनुभएको हो।
उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै यादवले बारा–१ का आम जनताको चाहनालाई केन्द्रमा राख्दै जनताको दुःख–सुखमा सधैं साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भ्रष्टाचारविरुद्ध कुनै सम्झौता नगरी अडिग रूपमा उभिने, विकास र सुशासनलाई प्राथमिकतामा राखी प्रभावकारी आवाज उठाउने स्पष्ट धारणा सार्वजनिक गर्नुभयो।
यादवले बारा १ लाई पछाडि पार्ने विगतका अभ्यासको अन्त्य गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी र सामाजिक न्यायका क्षेत्रमा ठोस परिवर्तन ल्याउने आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभयो। “अब भाषण होइन, परिणाममुखी कामको आवश्यकता छ,” भन्दै उहाँले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्नुभयो।
आम जनता पार्टीले बारा–१ मा लामो समयदेखि व्याप्त विकासको असन्तुलन, सुशासनको अभाव र जनसमस्याको समाधानका लागि सक्षम, निष्ठावान र संघर्षशील नेतृत्व आवश्यक रहेको बताउँदै विजय यादव ‘निर्विज’लाई आधिकारिक उम्मेदवारका रूपमा अघि सारेको जनाएको छ।
पार्टीका अनुसार बारा–१ मा अब परिवर्तन अपरिहार्य भइसकेको छ। “जनताको भरोसा, आम जनता पार्टी” भन्ने नाराका साथ मोबाइल चिन्हमा मतदान गर्न पार्टीले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ।























